काठमाडौं । दक्षिण एसियामा जल तथा जलवायु विज्ञान अनुसन्धानमा लैङ्गिक प्रसार तथा सिकाइसम्बन्धी क्षेत्रीय कार्यशाला आजबाट राजधानीमा सुरु भएको छ ।
काठमाडौंको सोल्टी होटलमा तीन दिनसम्म सञ्चालन हुने कार्यशालामा नेपाल, बंगलादेश, श्रीलंका र भारतका विश्वविद्यालयहरू परियोजना साझेदारका रूपमा सहभागी छन् । क्यानडाको अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र को सहयोगमा आयोजना गरिएको यस कार्यशालामा नेपाल इन्जिनियरिङ कलेज, बंगलादेश इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालयअन्तर्गतको जल तथा बाढी व्यवस्थापन संस्थान तथा श्रीलंकाको पेराडेनिया विश्वविद्यालय परियोजना साझेदार रहेका छन् ।
कार्यशालाको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसीले गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै उपकुलपति डा. केसीले कार्यशालाले नेपाल, भारत, बंगलादेश र श्रीलंकामा जल तथा जलवायु विज्ञान अनुसन्धान क्षेत्रका समस्या, चुनौती र सम्भावनाबारे साझा एजेन्डा निर्माण गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “जल तथा जलवायु परिवर्तनका चुनौतीहरूले कृषि, स्वास्थ्य, जीविकोपार्जन र खाद्य सुरक्षाजस्ता क्षेत्रमा मानिसहरूको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्दछन् । तर यी असरहरू सबैका लागि समान हुँदैनन् । महिलाहरू तथा सीमान्तकृत समुदायहरू प्राय: बढी जोखिममा पर्छन् र निर्णय प्रक्रियामा सहभागी हुने अवसर पनि सीमित हुन्छ ।”
कार्यशालाले विज्ञान समावेशी हुनुपर्छ भन्ने सन्देश दिएको उल्लेख गर्दै उपकुलपति डा. केसीले जल तथा जलवायु विज्ञानमा लैङ्गिक दृष्टिकोण समेट्दा जोखिम न्यूनीकरण, न्यायोचित नीति निर्माण तथा प्रभावकारी समाधान विकास गर्न सहयोग पुग्ने बताउनुभयो । महिला र पुरुष दुवै स्रोत योजना तथा नेतृत्वमा समान रूपमा संलग्न भए मात्र नतिजा अझ बलियो र दिगो हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. अजय थापाले लैङ्गिकता, वातावरणीय समस्या र जलवायु परिवर्तनबीच गहिरो अन्तरसम्बन्ध रहेको बताउनुभयो । इको–फेमिनिस्ट सिद्धान्तको सन्दर्भ दिँदै उहाँले महिलामाथिको दमन र वातावरणीय क्षयबीच प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

पानी स्रोतसम्बन्धी निर्णय प्रक्रियाबाट महिलालाई बाहिर राख्ने पितृसत्तात्मक संरचनालाई भत्काउनु आवश्यक रहेको उहाँको जोड थियो । “दिगो र न्यायोचित जल व्यवस्थापनका लागि महिलाको स्थानीय ज्ञान तथा प्रमुख जल व्यवस्थापकको भूमिकालाई समेट्नु अपरिहार्य छ, जसले नियन्त्रणमुखी सोचबाट संरक्षण, हेरचाह र जिम्मेवारीमा आधारित मोडेलतर्फ रूपान्तरण गर्न सहयोग पुर्याउँछ,” रजिष्ट्रार थापाले भन्नुभयो ।

उहाँले जलवायु परिवर्तनका असर महिलामाथि असमानुपातिक र सबैभन्दा गम्भीर रूपमा पर्ने जिकिर गर्दै विशेषगरी पानीको उपलब्धता घट्नु, खडेरी र बाढीजस्ता चरम मौसमी घटनाका कारण ग्रामीण महिलाहरू प्रत्यक्ष रूपमा प्रभावित हुने बताउनुभयो । महिलालाई परिवर्तनका संवाहक तथा अगुवाका रूपमा मान्यता दिए प्रभावकारी जलवायु अनुकूलन र जोखिम न्यूनीकरण सम्भव हुने उहाँको धारणा थियो ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले कार्यशालाले नेपालसहित सम्पूर्ण दक्षिण एसियाली क्षेत्रमा जल तथा जलवायु विज्ञान अनुसन्धानका महत्वपूर्ण विषय उठान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पहिलो दिन अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्रका इयान थोम्पसन तथा परियोजना प्रमुख एवं पेराडेनिया विश्वविद्यालयका प्राध्यापक धम्मिका दयावन्साबाट मुख्य तथा विशेष मन्तव्य प्रस्तुत गरिएको छ। साथै जल क्षेत्रमा लैङ्गिक विषय तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (क्त्भ्:) सम्बन्धी प्राविधिक सत्रहरू सञ्चालन गरिएका छन् । सत्रमा नेपालबाट डा. लिना गुरुङ, बंगलादेशबाट (अनलाइन) डा. रोकेया खातुन र श्रीलंकाबाट डा. स्रिनिता मण्डलले देशगत प्रस्तुति दिनुभयो ।
दिउँसोको सत्रमा एकीकृत जलस्रोत व्यवस्थापनसम्बन्धी अनुसन्धान तथा शिक्षामा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका संस्थागत अनुभवहरूबारे छलफल गरिएको थियो । सत्रमा श्रीलंकाबाट प्रा. धम्मिका दयावन्सा, नेपालबाट सह–प्राध्यापक रोबर्ट डोङ्गोल र बंगलादेशबाट प्रा. शाहजहाँ मण्डलले प्रस्तुति दिनुभयो ।
सरकारी निकाय, गैरसरकारी संस्था, उद्योग क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार, शैक्षिक संस्था तथा विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यशाला दक्षिण एसियामा लैङ्गिक उत्तरदायी जल तथा जलवायु विज्ञान अनुसन्धानका लागि ज्ञान आदान–प्रदान, सिकाइ र सहकार्यको क्षेत्रीय मञ्च बन्ने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS