ललितपुर । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिला उद्यमशीलता राष्ट्रिय विकासको महत्वपूर्ण आधार भएको बताएका छन् ।
ललितपुरमा आयोजित नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला उद्घाटन गर्दै उनले महिला उद्यमशीलताले व्यक्तिगत आर्थिक सशक्तिकरणसँगै सामाजिक रूपान्तरणमा समेत ठोस योगदान दिने उल्लेख गरेका हुन् ।
उनले महिलाहरू उद्यममार्फत आत्मनिर्भर बन्दै परिवार, समाज र राष्ट्रको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउदै स्वदेशी उत्पादनको उपयोग र प्रवद्र्धनले स्थानीय उद्यमीलाई प्रोत्साहन मिल्ने, आयात घटाउने र निर्यात बढाउने विश्वास व्यक्त गरेका थिए ।
उनले भने– ’महिला उद्यमीहरूको उत्पादनले आयात प्रतिस्थापन गर्नुका साथै निर्यातलाई प्रोत्साहन गर्दछ । यसले रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको सदुपयोग गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्छ ।’
उपराष्ट्रपति यादवले महिला उद्यमशीलताबाट रोजगारी सिर्जना, स्थानीय स्रोतसाधनको सदुपयोग र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्ने बताए । उनले पछिल्लो समय महिलाहरू साना घरेलु उद्योगदेखि व्यावसायिक क्षेत्रमा सक्रिय भई सामाजिक सशक्तिकरणमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरेका थिए ।
