काठमाडौं । सिरियाली सरकारले देशमा नयाँ ड्रेस कोड लागू गरेको छ । यसअन्तर्गत अब महिलाहरूले समुद्र तटमा पूरा लुगा लगाउनुपर्ने छ ।
मिडिया रिपोर्टका अनुसार पूर्वराष्ट्रपति बसर अल–असदको कूपछि सिरियामा सत्तामा आएका अहमद अल–शाराको सरकारले देशमा सांस्कृतिक परिवर्तन ल्याउने निर्णय गरेको छ । जसमा महिलाको लुगासँग सम्बन्धित आदेश पनि यसैको एक हिस्सा भएको उल्लेख छ ।
यो निर्णय जनताको हितलाई ध्यानमा राखेर गरिएको पर्यटनमन्त्री माजेन अल–सलहानीले बताएका छन् । उनले सार्वजनिक समुद्र तट र पोखरीहरूमा जाने पर्यटक र स्थानीयहरूले समाजका विभिन्न वर्गहरूको मर्यादा र भावनाको ख्याल राख्ने पौडी पोसाक लगाउनुपर्ने बताएका छन् । आदेशमा महिलालाई बुर्किनी वा शरीरलाई सकेसम्म ढाक्ने लुगा लगाउन भनिएको छ ।
त्यस्तै, सरकारले नयाँ नियमहरूमा पुरुषहरूमाथि पनि प्रतिबन्ध लगाएको छ । पुरुषहरूलाई सार्वजनिक स्थानहरूमा शर्टलेस हुन निषेध गरिएको छ । यद्यपि, पौडी खेल्ने क्षेत्र, होटेल लबी र खाना सेवा क्षेत्रहरूको हकमा छुट दिइएको छ । आदेशमा भनिएको छ, ‘समुद्र तट र पोखरी क्षेत्रबाहिर, सार्वजनिक स्थानहरूमा काँध र घुँडा ढाक्ने खुकुलो लुगा लगाउनु राम्रो हुनेछ । पारदर्शी वा धेरै कसिलो लुगाबाट बच्नुपर्छ ।’
यद्यपि, आदेशमा पश्चिमी शैलीको पौडी पोसाक अन्तर्राष्ट्रिय र प्रिमियम रिसोर्ट वा ४ तारा वा सोभन्दा माथिको मूल्याङ्कन भएका होटेलहरूमा र निजी समुद्र तट र पोखरीहरूमा लगाउन सकिने उल्लेख छ ।
सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले दिशानिर्देशहरूसँग सम्बन्धित आदेशलाई अनुमोदन गरेका छन् । अल–शाराको यो कदमले देशमा बढ्दो इस्लामिक प्रभाव देखाएको विश्लेषण गरिएको छ ।
मार्चमा अल–शाराले अन्तरिम संविधानमा हस्ताक्षर गरेका थिए, जसले अर्को पाँच वर्षको लागि इस्लामिक शासनलाई अनिवार्य गर्दछ । उनले सिरियाको लागि नयाँ संविधान तयार गर्न तीन वर्ष लाग्ने र अर्को पाँच वर्षमा चुनाव हुने बताएका छन् ।
सिरिया अब देशमा पर्यटन बढाउने प्रयास गरिरहेको छ । गत महिना अमेरिकाले सिरियामाथि लगाएको प्रतिबन्ध हटाएर बाटो सहज बनाएको थियो ।
FACEBOOK COMMENTS