काठमाडौं । नेपाल महिला चेम्बरले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न उद्यमी महिलालाई सम्मान गरिको छ ।
राजधानीमा आयोजित कार्यक्रममा चेम्बरले महिला उद्यमीहरुलाई सम्मान गरेको हो । नेपाल महिला चेम्बरबाट सम्मानित हुनेमा उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल बिमली, आई टितर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्य तर्फ स्वरुपा श्रेष्ठ छन् ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले सामाजिक संरचना विविधतापूर्ण रहेको उल्लेख गर्दै महिला हिंसा बढ्नु दुःखद भएको बताइन् ।
आधुनिक विश्वमा महिलालाई अगाडि बढ्न सहज देखिए पनि घर परिवारकै साथ नपाउँदा हरेक जसो क्षेत्रमा अगाडि बढन कठिन र चुनौतीपूर्ण हुने गरेको खतिवडाले बताइन् । राजनीतिक दलका नेताहरु जिम्मेवार नहुँदा राजनीतिकर्मी महिलाहरु समेत अवसरबाट बन्चित हुनु परेकोमा रोष प्रकट गर्दै संविधान बनाउनेले नै कानुन उल्लंघन गरेको खतिवडाले जिकिर गरिन् ।
नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले ५० प्रतिशत हिस्सा ओगटेका महिलाहरु पछाडि पारिएको दाबी गरे । उनीहरुलाई आर्थिक, सामाजिक, बौद्धिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण रुपमा अगाडि ल्याउनुपर्नेमा जोड दिए । पुरुषका तुलनामा महिलाहरुलाई कम ज्याला दिने गरिएको भन्दै अग्रवालले विभेदको अन्त्य गर्नुपर्नेे औल्याए ।
कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले हरेक बर्ष हुने यस्ता कार्यक्रमले महिलाहरुलाई अघि बढन हौसला मिल्ने बताइन् । अधिकांश महिलाहरु विभिन्न प्रकारका विभेद र उत्पिडनमा पिल्सिरहन बाध्य रहेको अध्यक्ष श्रेष्ठले बताइन् ।
महिलाहरुलाई अगाडि बढाउन महिला स्वयमको भूमिका, सहभागीता एवम प्रतिनिधित्व अर्थपूर्ण हुने श्रेष्ठको भनाइ छ । महिलाहरु अझै पनि हिँसामा पर्ने गरेको घटनाको स्मरण गर्दै उनले महिला सशक्तिकरणका निम्ती आर्थिक रुपमा स्वाबलम्बी बन्नुपर्नेमा जोड समेत दिइन् ।
FACEBOOK COMMENTS