काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको सम्मानका लागि सरकारले भगीरथ प्रयास गर्ने बताएका छन् ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टीमका खेलाडीहरूलाई आज मन्त्रालयमा बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने उल्लेख गरे ।
मन्त्री पोखरेलले नेपाली फुटबलमा महिला फुटबल टोलीको प्रदर्शनी उत्कृष्ट रहेको तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हासिल गरेको उपाधि प्रसंशनीय रहेको बताए ।
उनले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गरेर खेलकुद क्षेत्रको विकास र खेलाडी सम्मानलाई सरकारको तर्फबाट सकेसम्म बढाउने प्रयत्न गरिने बताउनुभयो । कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीलाई राष्ट्रिय झन्डा र जर्सी हस्तान्तरण गरेका थिए ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले सरकारको नीति अनुसार नेपाली फुटबलले नयाँ उचाई लिने विश्वास व्यक्त गरे ।

साफ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डरहरुमा पूजा राना, गीता राना, विमला बि.के., हिरा कुमारी भुजेल, प्रतिश्या चौधरी, समीक्षा घिमिरे, निशा ठोकर र सबिना चौधरी रहेका छन् ।

मिडफिल्डरहरुमा रेणुका नगरकोटी, दिपा शाही, प्रीति राई, सारु लिम्बु, बिर्शना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल र अनिता केसी रहेका छन् । त्यसैगरी फरवार्डमा रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा रहेका छन् ।

साफ महिला च्याम्पियनसिप प्रतियोगिता जेठ ११ देखि जेठ २३ गतेसम्म भारतको गोवास्थित फतोरदा रंगशालामा सञ्चालन हुनेछ । यस प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले भाग लिएका छन् । समुह ए मा नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र बंगलादेश रहेका छन् ।
प्रतियोगिताको पहिलो खेल जेठ ११ गते समुह ए मा रहेको नेपालले भुटानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।
नेपाली महिला फुटबल टोली जेठ ८ गते भारत प्रस्थान गर्ने र प्रतियोगिता सम्पन्नपछि जेठ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।