काठमाडौं । सर्लाही हरिवनका राजेश यादव दुई दिनदेखि निकै खुसी छन् । कोरोना भाइरसविरुद्ध खोप लगाएको दुई सातापछि शुक्रबार टेकुस्थित अस्पतालले प्रमाणीकरण गरिदिएपछि उनी खुसी भएका हुन् ।
रोजगारीका लागि कतार जान खोजेका २७ वर्षीय यादवले खोप लगाएदेखि नै प्रमाणीकरणका लागि प्रयास गरेका थिए। ‘प्रमाणीकरणका लागि कैयौं पटक प्रयास गरे पनि सफल हुन भने सकेको थिइनँ,’ उनले भने, ‘बल्लतल्ल शुक्रबार खोप लगाएको प्रमाणीकरण भएको छ। यसरी प्रमाणीकरण हुनुलाई मैले युद्ध जितेजस्तो ठानेको छु।’
उनलाई खोप लगाएको प्रमाणीकरण गर्न जति कठिन भयो, त्यसरी नै कोरोनाविरुद्ध खोप लगाउँदा पनि गाह्रो भएको थियो। उनका अनुसार करिब सात घण्टा लाइन बसेपछि मात्र जोनसन एन्ड जोनसन कम्पनीको खोप लगाउने मौका मिलेको थियो। कोरोनाविरुद्धको खोप लगाउन र लगाएपछि खोपको प्रमाणीकरण गर्न अप्ठेरो भोग्ने यादव एक्ला होइनन्।
अर्को साता रोजगारीका लागि साउदी अरेबिया उड्न खोजेका स्याङ्जाका हरि राम्जालीले अझै ९शुक्रबारसम्म० कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्। खोप पाउने आशामा विभिन्न अस्पताल पुग्ने गरे पनि कतैबाट सकारात्मक जवाफ नपाएको उनको गुनासो छ। ‘वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्धको खोप दिने भन्ने चर्चा चलेदेखि नै सक्दो खोजी गरेको हुँ,’ उनले भने, ‘तर व्यवहारमा त्यस्तो रहेनछ।’
झापाका अर्जुन गिरीको अवस्था त्यस्तै छ। रोजगारीका लागि कतार जान श्रम स्वीकृति लिइसकेका उनले कोरोना भाइरसविरुद्ध खोप लगाउन पाउने आशामा थुप्रै स्वास्थ्य संस्था पुगिसकेको बताए। जहाँ पुगे पनि खोप छैन भन्ने जवाफ आउने गरेको उल्लेख गर्दै उनले भने, ‘अहिले सेना र प्रहरीको अस्पतालमा वैदेशिक रोजगारीमा जानेलाई खोप दिने भन्ने हल्ला सुनेको छु। आइतबार ती अस्पताल जानु पर्ला।’
कोरोना महामारीपछि होस् वा अघि, जसरी वैदेशिक रोजगारीमा जानेलाई राज्यको तर्फबाट बेवास्ता भइरहेको छ, त्यही क्रम कोरोनाविरुद्धको खोप लगाउने बेलामा पनि भइरहेको छ। उनीहरूलाई खोप केन्द्रमा बस्ने स्वास्थ्यकर्मीले ‘चाहे खोप दिने नचाहे नदिने’ व्यवहार भइरहेको छ। वैदेशिक रोजगारीमा जानेले कोरानाविरुद्धको खोप नलगाउने हो भने कतिपय मुलुकले प्रवेशमा अनुमति नदिने र कतिपयले महँगो क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही दिनअघि नै खोपको उपलब्धता गराउन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो। सो आग्रहपछि स्वास्थ्यका अधिकारीले वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिने आश्वासन दिएका थिए।
सो आश्वासनपछि वैदेशिक रोजगारीमा जानेले कोरोनाविरुद्धको खोप पाउने आशा गरेका थिए। तर यतिखेर उनीहरूले सहजै खोप पाउन नसकेपछि वैदेशिक रोजगारीमै समस्या पर्ने व्यवसायीको चिन्ता छ। रोजगारीका राम्रा गन्तव्य मानिएका संयुक्त अरब इमिरेट्स ९युएई० र कुबेतले कोरोनाविरुद्धको खोप नलगाएकालाई प्रवेश नदिने यसअघि नै निर्णय गरिसकेका छन्। कतिपय मुलुकले खोप लगाएपछि प्रमाणीकरण गर्नुपर्ने सर्त अघि सारेका छन्।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ समयमै कोरोनाविरुद्धको खोप नलगाउँदा श्रमिकहरूलाई समस्या परिरहेको उल्लेख गर्दै सरकारले वैदेशिक रोजगारीमा जानेलाई उच्च प्राथमिकतामा खोप दिनुपर्ने बताउँछन्। व्यवसायीहरू सरकारले विदेश जाने श्रमिकलाई खोपको व्यवस्था गर्न नसके वैदेशिक रोजगारीको क्षेत्र नै धराशायी हुने जोखिम बढेको औंल्याउँछन्।
युएईले वैशाख २३ देखि नै नेपालबाट जानेहरूलाई आफ्नो मुलुकमा प्रवेश निषेध गरेको छ। यसरी रोक लगाउँदा पाँच हजारभन्दा बढी नयाँ र बिदामा घर आएका कामदारलाई समस्या परेको व्यवसायीको भनाइ छ। त्यस्तै कोरोनाले महामारीको रूप लिएपछि अर्को गन्तव्य मुलुक कुबेतले पनि नेपालबाट कामदार लगेको छैन। कुबेतले अनुमोदन गरेको खोप लगाएकालाई आफ्नो मुलुकमा अर्को सातादेखि प्रवेश दिने नीति लिएको छ। तर नेपालमा खोप सहज नभइरहेकाले नेपाली श्रमिकलाई यस्ता नीति तथा निर्णयले समस्यामा पारेको व्यवसायीको भनाइ छ।
कुबेतले कोरोनाविरुद्धको अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसनलगायत खोप लगाएकालाई प्रवेश अनुमति दिने घोषणा गरेको छ। साउदीका रोजगारदाताले पनि खोप नलगाएका कामदार नपठाउन म्यानपावर तथा त्यस्ता यात्रु नबोक्न हवाई कम्पनीहरूलाई निर्देशन दिने गरेको व्यवसायी बताउँछन्।
साउदी प्रवेश गर्नेले खोप लगाएको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्छ। साउदीको आन्तरिक मन्त्रालयले साउन १७ गतेदेखि खोपको मात्रा पूरा भएका कामदार मात्रै कार्यक्षेत्रमा प्रवेश गर्न पाउने नियम लगाएको छ। खोप नलगाई काम गरेको भेटिएमा जरिवाना लगाउनुका साथै कामबाट हटाउने र अटेरी गरे डिपोर्टसम्म गर्ने नीति लिएको घोषणा गरिएको छ।
श्रमविज्ञ सोम लुइँटेल वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरकारले तुरुन्त कोरोनाविरुद्धको खोप व्यवस्था गरी प्रमाणीकरण गर्न आवश्यक रहेको बताउँछन्। ‘खोप लगाएर प्रमाणीकरण गर्दा गन्तव्य मुलुकको स्ट्यान्डर्ड भुल्नु हुँदैन,’ उनले भने, ‘त्यस्तै अत्यावश्यक परेकालाई खोपमा प्राथमिकता दिई वैदेशिक रोजगारीमा जान खोजेका अन्यका लागि पनि खोपको मौज्दातमा ध्यान दिनुपर्ने देखिएको छ।’ विभिन्न मुलुकमा रहेका नेपालीलाई विभेदरहित तरिकाले खोपको सुनिश्चितता गर्नुपर्ने दायित्वसमेत सरकारको रहेको उनको भनाइ रहको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS