काठमाडौं । विश्व बैंकले नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक गरेको छ । विश्व बैंकका प्रतिनिधिले नेपालको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी जानकारी दिने उद्देश्यले उक्त ड्यासबोर्ड सार्वजनिक गरेका हुन् ।
उक्त ड्यासबोर्डमा सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित वित्तीय जानकारी उपलब्ध हुनेछ । ड्यासबोर्डमा प्रमुख वित्तीय तथ्याङ्कलाई एकीकृत र सहज रुपमा प्राप्त गर्न सकिनेछ । विश्व बैंकका अनुसार ड्यासबोर्डमा सङ्घ, प्रदेश र स्थानीय तहको आम्दानी, खर्च र वित्तीय व्यवस्थापनसँग सम्बन्धित तथ्याङ्क उपलब्ध हुनेछ । उक्त तथ्याङ्कलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिने छ । सरकार, नागरिक समाज तथा विकास साझेदारहरुसँगको परामर्शपछि ड्यासबोर्ड तयार पारिएको विश्व बैंकले जनाएको छ ।
प्रयोगकर्ताले विश्व बैंकको वेबसाइटमा गइ उक्त ड्यासबोर्ड प्रयोग गरी आवश्यक तथ्याङ्क लिन सक्नेछन् । ड्यासबोर्डमा विभिन्न आर्थिक वर्षको बजेट, राजस्व, चालु तथा पुँजिगत खर्च तथा वित्तीय व्यवस्थापनसँग सम्बन्धित तथ्याङ्कको विश्लेषण गर्न सकिन्छ ।
त्यस अवसरमा अर्थमन्त्रालयका उपसचिव हिक्मतबहादुर भण्डारीले यसप्रकारको ड्यासबोर्ड निकै उपयोग भएको उल्लेख गर्दै सरकारले पनि सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी ड्यासबोर्ड निर्माणको तयारी गरिरहेको बताए । उनले अबको एक वर्षभित्रमा उक्त ड्यासबोर्ड तयार भइ सार्वजनिक हुनेछ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले ड्यासबोर्डको उपयोगिताका सम्बन्धमा सरोकारवाला निकाय, नीति निर्माता, अनुसन्धानकर्ता, पत्रकार तथा विद्यार्थीका लागि उपयोगी हुनेमा जोड दिए । ड्यासबोर्ड विश्व बैंकको वेबसाइटमा गएर हेर्न सकिन्छ ।


FACEBOOK COMMENTS