काठमाडौं। आइतबार राति भएको खेलमा फ्रान्सलाई स्तब्ध पार्दै विश्वकप ट्रफी उचालेको अर्जेन्टिनामा यसको रौनक निकै छाएको छ । अर्जेन्टिनी फुटबलर लियोनल मेसीले आफूलाई यो समयका उत्कृष्ट फुटबलर सावित गरेका छन् ।
विश्वकपको ट्रफी मेसीले चुमेसँगै उनको फुटबल करिअरको सुखद अन्त्य भएको पनि अनुमान धेरैले गरेका छन् । मेसीले फुटबलबाट सन्न्यास लिनसक्ने अनुमान गर्दै उनको फुटबल करिअर अहिले उत्कर्षमा पुगेको अनुमान गरिएको होे ।
तर, मेसीले आफूले तत्काल सन्न्यास नलिने बताएका छन् ।
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप जिताएर इतिहास कायम गरेका मेसीलाई अर्जेन्टिनाको एक टिभीले प्रश्न गरेको थियो । प्रश्नको जवाफमा उनले भनेका छन्, ‘म फुटबललाई प्रेम गर्छु, म जे गर्छु फुुटबलमा नै गर्छु ।’
उनले आफू अर्जेन्टिनाको राष्ट्रिय टिममा नै रहने बताएका छन् । ‘मलाई राष्ट्रिय टिममा नै रहेर थप केही खेलहरु खेल्न मन छ, विश्व च्याम्पियनका रुपमा थप केही खेल खेल्न मन छ, त्यसको अनुभव लिन मन छ,’ मेसीले भनेका छन् ।
पाँचौ पटक विश्वकप खेलेका मेसीले फाइनलमा दुई गोल गरे । अन्तिममा पेनाल्टी सुटआउटमा पनि उनले गोल गरे ।
विश्वकपमा उनले गोल्डेन बल जिते, उनी उत्कृष्ट खेलाडी भएकाले यो अवार्ड उनलाई दिइएको हो । सन् २०१४ मा पनि उनले यो उपाधि पाएका थिए । उनले यो विश्वकपमा ७ गोल गरे ।
अर्को विश्वकपमा मेसी ३९ वर्षका हुनेछन् र उनले यसअघि नै कतार विश्वकप आफ्नो अन्तिम विश्वकप हुनसक्ने संकेत गरेका थिए । तर, लियोनल स्कालोनीले २०२६ को अर्जेन्टिनी स्क्वायडमा पनि मेसी हुने बताएका छन् ।
FACEBOOK COMMENTS