काठमाडौं। फिफा विश्वकप २०२६ को उपाधि जितेसँगै स्पेन पुरुष फुटबलको नयाँ फिफा वरीयताको शीर्षस्थानमा उक्लिएको छ।
यसअघि शीर्षस्थानमा रहेको अर्जेन्टिना दोस्रो स्थानमा झरेको छ भने फ्रान्स तेस्रो स्थानमै कायम रहेको छ।
स्पेनले विश्वकप फाइनलमा सन् २०२२ को विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै जनवरीपछि पहिलो पटक फिफा वरीयताको शीर्षस्थान पुन: प्राप्त गरेको हो।
वरीयतामा फ्रान्स तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा यथावत् छन्। यद्यपि, तेस्रो स्थानका लागि भएको इंग्ल्यान्डले फ्रान्सलाई पराजित गरेको थियो।
ब्राजिल एक स्थान सुधार गर्दै पाँचौं स्थानमा पुगेको छ भने मोरक्को इतिहासकै उत्कृष्ट छैटौं स्थानमा उक्लिएको छ।
विश्वकपको अन्तिम १६ बाट बाहिरिएको पोर्चुगल दुई स्थान तल झर्दै सातौं स्थानमा पुगेको छ। बेल्जियम आठौं स्थानमा उक्लिएको छ भने नेदरल्यान्ड्स नवौं स्थानमा झरेको छ।
मेक्सिको चार स्थान सुधार गर्दै शीर्ष १० भित्र प्रवेश गरेको छ।
विश्वकपको क्वाटरफाइनलसम्म पुगेको नर्वे सबैभन्दा ठूलो फड्को मार्ने टोली बनेको छ। नर्वे १२ स्थान सुधार गर्दै १९औं स्थानमा पुगेको छ।
जर्मनी शीर्ष १० बाट बाहिरिँदै १२औं स्थानमा झरेको छ भने क्रोएसिया १३औं स्थानमा रहेको छ। विश्वकपमा छनोट हुन नसकेको इटाली १५औं स्थानमा झरेको छ।
ट्युनिसिया सबैभन्दा धेरै स्थान गुमाउने टोली बनेको छ। ट्युनिसिया १२ स्थान तल झर्दै ५७औं स्थानमा पुगेको छ।
यता इजिप्ट पाँच स्थान सुधार गर्दै २४औं स्थानमा पुगेको छ भने विश्वकपको अन्तिम १६ सम्म पुगेको पाराग्वे सात स्थान उक्लिँदै ३४औं स्थानमा पुगेको छ।
विश्वकपको अन्तिम ३२ सम्म पुगेको केप भर्ड तीन स्थान सुधार गर्दै ६४औं स्थानमा पुगेको छ। घाना भने आठ स्थान उक्लिँदै ६५औं स्थानमा पुगेको छ।