काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
आइतबार ओमानको अल अमेरतमा हुने खेलका निम्ति भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय गर्दै यूएईलाई फिल्डिङको निम्तो दिएका हुन् ।
प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । यूएईविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।
यूएई पनि समूह चरणका दुवै खेलमा जितसहित सुपर–६ मा आएको हो । समूह ‘ए’मा यूएईले कतारलाई सात विकेटले हराएको थियो । यूएईले मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।
नेपालले सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्रतिस्पर्धा गर्ने टिममा यूएईसँगै कतार, ओमान र समाओ छन् ।
नेपालले आफ्नै समूहबाट सुपर–६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन । सुपर–६ मा नेपालले यी चार टिमविरुद्ध ‘डबल राउन्ड रोबिन’ पद्धतिअनुसार प्रतिस्पर्धा गर्नेछ ।
FACEBOOK COMMENTS