काठमाडौं । ‘विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन’ को नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति एक स्थानले खस्किएको छ ।
क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले कानूनको पालना, सम्पत्तिमाथिको अधिकार र कानूनी शासनसम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा खस्किएर ९०औँ स्थानमा झरेको हो ।
प्रतिवेदनमा विश्वभरका १६५ देशलाई समेटिएको छ । विशेषगरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएका नीतिगत समस्याले नेपालको समग्र अङ्क र वरीयतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ ।
समृद्धि फाउन्डेशनले यस वर्षसहित लगातार १९औँ पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनअनुसार आर्थिक स्वतन्त्रताका दृष्टिबाट हङकङ, स्विट्जरल्यान्ड र सिङ्गापुर विश्वका उत्कृष्ट शीर्ष तीन देश बन्न सफल भएका छन् ।

नीतिगत अस्थिरता, द्वन्द्व र कमजोर शासन प्रणालीका कारण सुडान, जिम्बावे र भेनेजुएला विश्वकै सबैभन्दा कमजोर अर्थात् पुछारका तीन स्थानमा रहेका छन् ।

नेपालजस्ता उदीयमान अर्थतन्त्र भएका देशहरूले बाह्य लगानी आकर्षित गर्न तथा आर्थिक सूचकहरू सुधार गर्न कानूनी र संरचनागत सुधारमा विशेष जोड दिनुपर्ने सुझाव विज्ञहरूको छ ।