काठमाडौं। विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘पानीको लागि हिँड्नुहोस्, जीवनको लागि हिँड्नुहोस्’ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ।
विश्व पानी दिवसको अवसरमा गत वर्ष सुरु गरिएको वाकाथन कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस वर्ष पनि उक्त कार्यक्रम आयोजना गरेको हो ।
हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवसले स्वच्छ पानीको महत्वलाई उजागर गर्दै पानी स्रोतको दिगो व्यवस्थापनका लागि विश्वव्यापी रूपमा सचेतना फैलाउने लक्ष्य राखेको छ। सन् २०२६ को नारा ‘पानी र लिङ्ग’ले सुरक्षित पानी, सरसफाइ तथा लैंगिक समानता प्रवद्र्धन गर्न पानीको पहुँच र व्यवस्थापनमा समान सहभागिता र अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ ।
यस विश्वव्यापी नारासँग ऐक्यबद्धता जनाउँदै सिद्धार्थ बैंकले पनि सुरक्षित पानी र सरसफाइको पहुँच सुनिश्चित गर्नुका साथै लैंगिक समानता प्रवद्र्धन गर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले उक्त वाकाथन कार्यक्रम आयोजना गरेको हो।
सुरक्षित पिउने पानीमा सर्वसाधारणको पहुँच सुनिश्चित गर्ने उद्देश्यले विश्व पानी दिवसको अवसरमा चालु आर्थिक वर्ष भित्र देशभरका सार्वजनिक स्थानहरूमा ९ वटा पानी शुद्धीकरण (वाटर प्युरिफायर) प्रणालीहरू स्थापना गर्नुका साथै जलस्रोत वरपर सरसफाई अभियान सञ्चालन गर्नेयोजना रहेको बैंकले जनाएको छ ।

यस पहलमार्फत सर्वसाधारणलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउँदै जनस्वास्थ्य प्रवद्र्धनमा योगदान पुर्याउने तथा ‘पानी र लिङ्ग’नाराले जोड दिएको समावेशी पहुँचलाई सुदृढ बनाउने लक्ष्य बैंकले राखेको छ ।

यस कार्यक्रममा बैंकले पानीको सदुपयोग, सरसफाइ र लैंगिक समानताबको महत्व झल्काउने प्लेकार्डसहित नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुन:नक्सालसम्म ५ किलोमिटरसम्मको प्रभातफेरी (वाकाथन) आयोजना गरेको हो ।

बैंकले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई वाकाथनमा सहभागिताका लागि आह्वान गरेको थियो । ६९७ भन्दा बढी व्यक्ति सहभागी भएका यस कार्यक्रममा २६४ जना महिला र ४३३ जना पुरुषहरु रहेका थिए ।
FACEBOOK COMMENTS