काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले आफ्नो ऐतिहासिक उपलब्धि, प्रविधिमा पुर्याएको योगदान तथा सङ्घर्षसहितको गौरवपूर्ण विगतलाई समेट्ने गरी वर्ल्डलिङ्क सङ्ग्रहालयको स्थापना गरेको छ ।
सङ्ग्रहालयमा वर्ल्डलिङ्कले स्थापनाकालदेखि अहिलेसम्म, ई–मेल/इन्टरनेट, डायलअप, भी–स्याट, वायरलेस, केबल इन्टरनेट तथा एफटीटीएच यात्रामा प्रयोग गरेका विभिन्न प्रविधियुक्त उपकरणहरू राखिएको छ । यी उपकरण र प्रविधि प्रयोगबाहिर गइसकेका छन्, तर ती नेपालको इन्टरनेट इतिहासको संस्मरणका लागि निकै महत्त्वपूर्ण छन् ।
इतिहास झल्किने यस्ता प्रविधिलाई एकै स्थानमा सुरक्षित र सङ्गृहित रूपमा राख्नु आफ्नो कर्तव्य र सामाजिक दायित्व रहेको वर्ल्डलिङ्कको भनाइ छ । वर्ल्डलिङ्क सङ्ग्रहालय अध्ययन, अवलोकन तथा अनुसन्धान लागि राखिएको हो । यो सङ्ग्रहालय भविष्यमा नेपालको इन्टरनेट प्रविधिको विकासक्रमको अध्ययन गर्ने र ज्ञान बटुल्ने साझा थलो बन्ने विश्वास कम्पनीको छ ।
कम्पनीको यो कदमबाट नेपालमा सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी, अनुसन्धानकर्ता, इतिहासविद, लेखक, सञ्चारकर्मीलगायतलाई विगतका प्रविधिहरू अवलोकन गर्न, सिक्न र बुझ्न सहयोग पुग्ने छ उसको विश्वास छ । यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राविधिक वर्गलाई इन्टरनेट प्रविधिको क्रमिक विकास तथा नेपालको डिजिटल यात्रामा वर्ल्डलिङ्कको भूमिका बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्नेछ ।
वर्ल्डलिङ्कले देशका दुर्गम गाउँदेखि सहरसम्म इन्टरनेट सेवा पुर्याउँदै डिजिटल पहुँचलाई सरल बनाएको छ । यो सङ्ग्रहालय त्यही यात्राको प्रतिविम्ब हो, जसले नेपालमा प्रविधिको विकास र विस्तारमा वर्ल्डलिङ्कले पुर्याएको योगदानलाई अमर बनाउने छ ।
सङ्ग्रहालयमा डायलअप इन्टरनेटमा प्रयोग भएका उपकरण तत्कालीन समयमा कम्प्युटर मोडेम वायरलेसमा प्रयोग भएका डिस्क, ‘ओकेएम १६१६ ओआर’ का पुराना उपकरण राखिएको र अवलोकनका लागि शुक्रबार बिहान १० बजेदेखि ४ बजेसम्म कलेज अध्ययनरत विद्यार्थीहरूलाई खुला गरिने कम्पनीका प्रतिनिधि किरणराज गौतमले जानकारी दिए ।
कम्पनीका अध्यक्ष दिलीप अग्रवालको प्रमुख आतिथ्यता र सह–संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र प्रमुख कार्यकारी अधिकृत केशव नेपालको विशेष उपस्थितिमा वर्ल्डलिङ्कको आफ्नै भवन कार्यालय परिसर ललितपुरको कुसुन्तीमा सङ्ग्रहालय उद्घाटन गरिएको हो ।
FACEBOOK COMMENTS