काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
मंगलबार बिहान अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि छानबिन गर्न बनेको जाँचबुझ आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस गरेका हुन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान पासपोर्ट रोक्का र काठमाडौं उपत्यका छाड्न रोक लगाएको छ ।
यसरी गरिएको निर्णय गैरकानुनी भएको र सम्मानपूर्वक बाँच्न पाउने अधिकारविरूद्ध भएको भन्दै रिट पेस भएको छ ।
अधिवक्ता सिलवालले उक्त निर्णयलाई खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न भन्ने परमादेश र उपयुक्त आदेशको माग गरेका हुन् ।
रिटमा पासपोर्ट रोक्का गर्ने र स्थान हद तोक्ने निर्णयले संविधानको सम्मानपूर्वक बाँच्न पाउने हकलाई हनन गरेको आरोप छ। साथै स्वतन्त्रतामा समेत असर गरेको भनिएको छ । उक्त रिट सर्वोच्चमा दर्ता भइसकेको छैन। सर्वोच्च प्रशासनले उक्त रिटलाई अध्ययन गरिरहेको छ ।

यसअघि सर्वोच्चमा १० वटा भन्दा बढी रिट संसद विघटन र सरकार गठनविरूद्ध परेका छन्। उक्त रिटको पहिलो सुनुवाइ बुधबार हुँदैछ ।

FACEBOOK COMMENTS