काठमाडौं । निसानले नेपालमा नयाँ र चौथो जेनेरेसनको ई–पावर एसयूभी कार ‘एक्स–ट्रेल’ सार्वजनिक गरेको छ ।
हालसम्म विश्वभर ७ मिलियन भन्दा बढी बिक्री भएको एक्स–ट्रेल नेपालमा सार्वजनिक भएको हो । यो गाडी सन् २००१ मा निर्माण भएको हो ।
नेपालमा निसानको आधिकारिक बिक्रेता पायोनियर मोटोकोर्पले सार्वजनिक गरेको यो गाडीको मूल्य एक करोड ८७ लाख रुपैयाँ पर्ने पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले जानकारी दिए । उनका अनुसार कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आएको निसान एक्स–ट्रेल विश्वमा निकै सफल मोडल मानिन्छ । कम्पनीले यसमा हाइब्रिड टेक्नोलोजी प्रयोग गरेको छ । यही टेक्नोलोजीलाई ‘ई–पावर’ भनिएको उनले जानकारी दिए ।
त्यसैकारण निसानले एक्स–ट्रेललाई ई–पावर नामबाट निकै ठूलो ब्राण्डिङ समेत गरेको छ । यसमा १ दशमलव ५ लिटर टर्बो पेट्रोल इन्जिनको साथ इलेक्ट्रिक मोटर जडान गरिएको छ । यसको इन्जिन पावर २०१ पीएस छ भने इलेक्ट्रिक मोडमा २११ पीएस पावर पाउन सकिने कम्पनीले जनाएको छ ।
एक्स–ट्रेलले नवीनतम मोबिलिटी सोलुसनहरू प्रस्तुत गर्ने ब्रान्डको प्रतिबद्धतालाई मूर्त रूप दिने पनि कम्पनीले बताएको छ । साथै, यसले ग्राहकहरूलाई आकर्षक एक्सटेरियर र इन्टेरियर डिजाइन, परिष्कृत सुरक्षाको साथ यो श्रेणीमै उच्चस्तरको सुविधा प्रदान गर्दछ ।
‘नेपालमा नयाँ एक्स–ट्रेल ई–पावर पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ हुने गाडी सार्वजनिक गर्न पाउँदा हामी खुसी छौँ,’ पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले भने, ‘एक्स–ट्रेल ई–पावर ठूलो, आरामदायी र बहुपयोगी एसयूभी चाहने ग्राहकहरूका लागि उत्कृष्ट छनोट हुनाको साथै वातावरणमैत्री, प्रभावकारी र चलाउन रमाइलो सवारी साधन पनि हो ।’ एक्स–ट्रेल ई–पावर नवीनतम मोबिलिटी सोलुसनहरूमार्फत मानिसहरूको जीवनलाई सहज बनाउने निसानको दृष्टिकोणको प्रमाण भएको उनको दाबी छ ।
निसानको ई–पावर टेक्नोलोजीलाई ग्राहकहरूले विश्वव्यापी रूपमा अविश्वसनीय रूपमा स्वागत गरेको र आफूहरू नेपालमा यो प्रभावकारी, ईभी जस्तो ड्राइभ अनुभव प्रदान गर्न सक्षम भएको कम्पनीले बताएको छ । ई–पावरको प्रयोग गरेपछिमात्रै यसको क्षमता र विशेषतालाई बुझ्न सकिने कम्पनीको भनाइ छ ।
नयाँ एक्सट्रेलमा १८ इन्चको ह्वील, सबै एलइडी लाइट, मोसन भि सेप ग्रिल, ठूलो पानारोमिक शनरुफ, ५८५ लिटरको ठूलो बुट स्पेस पाउन सकिन्छ । निसानको प्रो-पाइलट टेक्नोलोजी प्रयोग गरिएको कारमा एडाप्टीभ क्रुज कन्ट्रोल लगायत एडास फिचर यसमा रहने छ । प्रो-पाइलट पार्किङ सुविधा समेत पाउन सकिन्छ । नयाँ एक्सट्रेलको ड्यासबोर्ड पनि निकै आकर्षक छ । डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, १२.३ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, हेडअप डिस्प्ले लगायतका फिचर छन् ।
पायोनियर मोटो कर्प प्रालि नेपालका लागि निसान मोटर कम्पनीको आधिकारिक वितरक हो । सन् २०१७ मा आफ्नो सञ्चालन सुरू गरेको कम्पनीले जापान, थाइल्याण्ड र भारतमा निसानको प्लान्टबाट सवारी साधन आयात गर्दछ । कम्पनीको नेपालभर १७ वटा बिक्री केन्द्रहरू रहेका छन् ।
FACEBOOK COMMENTS