सेन्सरशिप विवादका कारण सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ ले ब्राजिलमा आफ्नो कार्यालय बन्द गरेको छ ।
एक्सले ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्डर डे मोरेसले आफ्नो कानुनी प्रतिनिधिलाई ‘सेन्सरशिप आदेश’ अवज्ञा गरेकामा गिरफ्तार गर्ने धम्की दिएको बताएको छ । ब्राजिलको सर्वोच्च अदालतले भने यस सम्बन्धमा कुनै टिप्पणी गरेको छैन ।
अर्बपति इलन मस्कको यो कम्पनीले शनिबार ब्राजिलका जनता अझै पनि एक्स प्रयोग गर्न सक्षम रहेको बताएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश मोरेसले धेरै एक्स अकाउन्टहरूले दुष्प्रचार फैलाएको आरोप लगाएका थिए ।
उनले पूर्व दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोका धेरै समर्थकहरूको अनुसन्धान जारी रहेको भन्दै यसका लागि उनीहरूका एक्स अकाउन्ट बन्द गरिनुपर्ने बताएका थिए ।
एक्सका मालिक इलन मस्कले न्यायाधीश मोरेसको आलोचना गरेपछि न्यायाधीशले पुनः सुचारू गरिने कुनै पनि एक्स अकाउन्टमा प्रतिदिन एक लाख रेइस (ब्राजिलियन मुद्रा, लगभग १९ हजार ७ सय ७४ अमेरिकी डलर) जरिवानाको आदेश दिएका थिए ।
न्यायाधीश मोरेसले इलन मस्कलाई न्यायमा अवरोधलगायत आरोपमा अनुसन्धानको दायरामा राखेका छन् ।
सामाजिक सञ्जाल प्लेटफर्म एक्सले आफ्नो बयानमा कन्टेन्ट ब्लक गरियो वा गरिएन यसमा ब्राजिलमा कार्यरत आफ्ना कर्मचारीको कुनै नियन्त्रण नरहेको तर न्यायाधीश मोरेसले कानुनको सम्मान गर्नुको सट्टा कर्मचारीलाइ धम्की दिन उचित ठानेको बताएको छ ।
एक्सले भनेको छ, ‘परिणामस्वरूप हाम्रा कर्मचारीहरूको सुरक्षाका लागि हामीले ब्राजिलमा आफ्नो कार्य सञ्चालन तुरून्त बन्द गर्ने निर्णय गरेका छौं ।’
FACEBOOK COMMENTS