काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ मोरङमा जलाइएको छ ।
जिल्लाको बुढीगङ्गा गाउँपालिका–४ स्थित हात्तीमुडामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा रहेको पुस्तक जलाइएको हो ।
उक्त पुस्तक जलाएको भिडिओ सामाजिक सञ्जालमा आएपछि नेपालस्थित चिनियाँ दूतावासले चासोका साथ परराष्ट्र मन्त्रालयमा पत्र पठाउँदै संलग्नलाई कारबाही गर्न ध्यानाकर्षण गराएको छ ।
त्यसलगत्तै गृहमन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको बताइएको छ ।
मनमोहन स्मृति प्रतिष्ठानले स्थानीय संघ संस्था, क्लबमा वितरण गर्न केही वर्षअघि ती पुस्तक मनमोहन विश्वविद्यालयलाई दिएको थियो । त्यसमध्ये धेरैजसो पुस्तक वितरण भएको र केही अझै स्टोरमा रहेको बताइएको छ ।

स्टोरमा रहेका केही किताब धमिरा लागेको, केही पानीले भिजेका कारण सफाइ कर्मचारीले बिग्रिएका किताब सफाइका क्रममा जलाइएको विश्व विद्यालयका उपकुलपति सुभाषश्री पोखरेलले स्वीकार गरेका छन् ।

FACEBOOK COMMENTS