काठमाडौं । यामाहा नेपालले सार्वजनिक गरेको यामाहा एफजेडएस एफआइ हाइब्रिड मोटरसाइकल बजारमा अत्यधिक मागका कारण लन्च भएको एक हप्तामै पूर्ण रूपमा सोल्ड आउट भएको छ। कम्पनीले यसको अर्को ब्याचका लागि प्रि–बुकिङ खुला गरिएको जानकारी दिएको छ।
नेपालकै पहिलो हाइब्रिड मोटरसाइकलको रूपमा बजारमा आएको एफजेडएस एफआइ हाइब्रिडले छोटो समयमै उल्लेखनीय ग्राहक आकर्षण हासिल गरेको कम्पनीले जनाएको छ। उच्च प्रविधि, इन्धन दक्षता र प्रदर्शनबीच सन्तुलन मिलाउने उद्देश्यले विकास गरिएको यस मोडलले बढ्दो इन्धन मूल्य र शहरी ट्राफिक जस्ता चुनौतीलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
एफजेड सिरिजको विरासतलाई निरन्तरता दिँदै ल्याइएको यो हाइब्रिड मोटरसाइकलमा उन्नत प्रविधि, स्मार्ट फिचर र उत्कृष्ट माइलेज उपलब्ध रहेको बताइएको छ। कम्पनीका अनुसार यो मोडल नेपालकै उच्च माइलेज दिने मोटरसाइकलमध्ये एक बनेको छ।
उच्च मागपछि कम्पनीले नयाँ स्टक चाँडै उपलब्ध गराउने र ग्राहकलाई समयमै डेलिभरी सुनिश्चित गर्ने जनाएको छ। इच्छुक ग्राहकहरूले देशभरका आधिकारिक डिलर तथा कम्पनीका डिजिटल प्लेटफर्ममार्फत प्रि–बुकिङ गर्न सक्नेछन्।
यस उपलब्धिबारे प्रतिक्रिया दिँदै यामाहा नेपालका कार्यकारी निर्देशक तथा सीईओ दिपक कुमार अग्रवालले ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रिया उत्साहजनक रहेको बताए। “प्रविधि र माइलेजप्रति बढ्दो चासोले यो सफलता सम्भव भएको हो,” उनले भने। उनले कम्पनी नेपाली राइडरहरूको बदलिँदो आवश्यकता अनुसार नवीन र व्यवहारिक यातायात समाधानहरू ल्याउन प्रतिबद्ध रहने पनि बताए।

FACEBOOK COMMENTS