काठमाडौं । बीआईडी नेपालका प्रमुख यमुना श्रेष्ठले महिला उद्यमशीलताले तुलनात्मक रुपमा फड्को मारेको बताएकी छन् ।
नेपाली कांग्रेसको मुख्यालयमा आयोजित स्टार्टअप तथा एसएमई सम्मेलनमा यस्तो बताएकी हुन् । उनले भनिन्, “नेपालमा उद्यम स्थापना गर्न केही अप्ठ्याराहरु भए पनि काम गर्दै जाँदा चुनौती सामाना गर्ने क्षमता पनि हुने र मेहनत गरे सफल असम्भव हुँदैन ।”
पछिल्लो समय महिला उद्यमशीलताले सहरदेखि गाउँसम्म नै आर्थिक रुपान्तरणमा योगदान गरिरहेकोसमेत उनले बताइन् । उनले उद्यम गर्नका लागि उद्यम सेन्टरको पनि स्थापना हुनुपर्ने समेत बताइन् ।
उनले थपिन, “अहिले महिला उद्यमसिलताले सहरदेखि गाउँसम्म आर्थिक रुपान्तरणको योगदान गरिरहेको छ । अहिले महिला उद्यमीको सहभागीताले आफ्नो आन्तरिक खर्च धान्नका लागि केही न केही गर्दा अरुमा भर पर्नुपर्ने हुँदा सजिलो भएको छ ।”
युजी केक्सकी संस्थापक निकिता आचार्यले आफुले २०१२ मा सानो लगानीमा सुरु गरेको व्यवसायले अहिले ठूलो फड्को मारेको बताइन् । उनले थपिन्, “हामीले तालिम दिएका धेरै जना अहिले आत्मनिर्भर भएको र कयौं सफल उद्यमीको रुपमा समेत परिचित हुनुहुन्छ ।”
उनले समाजमा पुरुषको तुलनामा महिलालाई बढी नै चुनौती रहेको उल्लेख गर्दै आचार्यले भनिन्, “महिलालाई उद्यमप्रती उत्प्रेरित बनाउन राज्यले विभिन्न नीति त ल्याएको छ । तर महिलाहरु त्यसमा समावेश भएका छैनन् । महिलालाई उद्यममा सहज प्रवेशको लागि राज्यले आफ्ना कानुन र नीतिमा सुधार र परिवर्तन गर्न आवश्यक छ ।”
कार्यक्रममा एनआरएनकी पूर्व अध्यक्ष रविना थापाले अर्थतन्त्र सबल बनाउन महिला उद्यमीको महत्वपूर्ण भूमिका रहने बताइन् । उनले भनिन्, “मैले नेपालको एक गाउँबाट सुमद्रपारीको सहरमा पुगेर यहाँसम्मो परिचय बनाउन थुप्रै चुनौती र कठिनाइको सामना गर्नुपरेको थियो । हामीले विदेशमा पनि नेपाली महिलाहरुलाई उद्यमशीलताका लागि प्रेरित गरेका थियौं ।”
उनले नेपालमा सहज रुपमा उद्यम गर्नका लागि राज्यले विश्वास पनि नगर्ने परिस्थिति भए पनि अहिले सहज भएको बताएकी छन् । उनले भनिन्, “उद्यम दर्तादेखि धेरै विषयमा झन्झट भएकाले त्यसका लागि सहजीकरण गर्न अवश्यक रहेको छ ।”
FACEBOOK COMMENTS