काठमाडौं । उच्च हिमाली क्षेत्रका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रमा वैशाखदेखि नै यार्सागुम्बा अनुमति माग्न सकिने भएको छ ।
वन तथा वातावरण मन्त्रालयले यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिकाको मस्यौदा तयार पारेको छ । उक्त मस्यौदाले अब यार्सागुम्बा संकलन वैशाखदेखि असारसम्म गर्न सकिने गरी समय तोकेको हो । यसअघि यस्तो समय जेठ दोस्रो सातादेखि असार मसान्त थियो ।
मन्त्रालयले शुक्रबार मस्यौदा सार्वजनिक गर्दै यसमा यसमा राय सुझाव भए १० दिन भित्र उपलब्ध गराउन समेत भनेको छ ।
मस्यौदा अनुसार हरेक वर्ष वैशाखदेखि असार मसान्त भित्र बढीमा ३० दिनको समय तोकेर यार्सागुम्बा संकलनको अनुमति दिइने भएको छ । यार्सागुम्बा संकलन गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्छ । एक व्यक्तिलाई एक वर्षमा एक पटक मात्र यार्सागुम्बा संकलनको अनुमति दिने प्रावधानले निरन्तरता पाएको छ ।
संकलित यार्सागुम्बा ओसार पसार गर्न चाहने व्यक्ति, फर्म र कम्पनीले समेत सम्बन्धित संरक्षण कार्यालय वा परिषद्हरुमा निवेदन दिनु पर्छ । त्यसपछि कार्यालयले छोडपत्र अनुमति दिन्छ । यस्तो अनुमति पाएको ३० दिन भित्र ओसार पसारको काम सकिसक्नु पर्छ । यसअघि २०७३ सालमा बनेको निर्देशिकालाई नयाँ निर्देशिकाले प्रतिस्थापन गर्ने भएको छ ।
FACEBOOK COMMENTS