काठमाडौं । करिब १ वर्ष अघि यती एयरलाइन्सको पोखरामा भएको जहाज दुर्घटनाको अन्तिम प्रतिवेदन आयोगले सरकारलाई बुझाएको छ ।
२०७९ माघ १ गते यती एयरलाइन्सको पोखरामा भएको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित दुर्घटना जाँच आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको हो ।
यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो । यस दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँच आयोगको निष्कर्ष रहेको छ ।
नेपाली आन्तरिक हवाई उडानको यो सबैभन्दा विनासकारी दुर्घटना हो । दुर्घटनाको कारणमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । त्यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज भुँइमा झरेको थियो । यसो हुनुमा मानवीय कारण दोषी मानिएको छ ।
आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र सोहीकारण जहाज दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगको रहेको बताए ।
यस पटक दुर्घटना जाँच आयोगमा धेरै राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञहरु परिचालन गरी अध्ययन गरिएको समेत उनले जानकारी दिए ।
FACEBOOK COMMENTS