काठमाडौं । यती एअरलाइन्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाइ भाडा निःशुल्क गर्ने घोषणा गरेको छ ।
सामाजिक सञ्जालहरुमार्फत ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै यतीले शिशुहरुलाई हवाइ भाडा शतप्रतिशत छुट गर्ने घोषणा गरेको हो ।
हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एअरलाइन्समार्फत नै सुरुवात होस् भनेर यो योजना ल्याइएको यती एअरलाइन्सले जानकारी दिएको छ । हाल एअरलाइन्सहरुले २४ महिनासम्मका शिशुहरुको उडानमा सेवा शुल्क लिँदै आएका छन् ।
यात्रुहरुलाई सुखद उडान यात्राको अनुभव दिन बच्चाहरुको हवाइ भाडामा शतप्रतिशत छुट गरिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार हाललाई यो योजना नेपाली र विदेशी सबै शिशुहरुका लागि वैशाख १ देखि सीमित समयको लागि लागू गरिएको छ ।
यो सुविधा लिनका लागि यात्रा गर्दा अभिभावकहरुले यती एअरलाइन्सको चेकइन काउण्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रुपमा देखाउनुपर्नेछ । यतीले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुहरुका लागि विशेष काउण्टरमार्फत सेवा दिँदै आइरहेको छ ।
हाल यती एअरलाइन्सले ७ वटा एटीआर–७२ विमानमार्फत दैनिक ६५ भन्दा बढी उडान गरी ४ हजारभन्दा धेरै यात्रुहरुलाई सेवा दिँदै आएको छ ।
FACEBOOK COMMENTS