असोज ५, काठमाडौं ।निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनी यति एयरलाइन्सले स्थापनाको २४ औं वर्षगाँठको अवसरमा कल सेन्टर सेवा थालेको छ ।
२१ सेप्टेम्वर, १९९८ मा पहिलो उडान थालेको यतिले सोही दिनलाई बार्षिक उत्सवका रुपमा मनाउने गरेको छ । यतिले आफ्नो भगिनी संस्था तारा एयरसहित २३ वर्षदेखि नेपाली आकाशमा सेवा दिइरहेको बताएको छ ।
२४ वर्षे यात्रासँगै यतिले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटीआर युगमा प्रवेश गरेको छ । यतिले आफूसँग रहेको ५ वटा जेटस्ट्रिम विमान बिक्री गरिसकेको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै कल सेन्टरको समेत औपचारिक शुभारम्भ गरेको छ । कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडान सम्बन्धी जानकारी लिन सकिने र उडान सम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यति एयरलाइन्सले जनाएको छ ।
FACEBOOK COMMENTS