काठमाडौं । यती एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)को मानक सुरक्षा मापदण्ड (आईएसएसए) प्राप्त गरेको छ।
आईएसएसएको प्रमाण पत्र उड्डयन क्षेत्रमा उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एयरलाइन्सलाई दिने गरिन्छ।
आईएसएसएको प्रमाण पत्र प्राप्त गर्न पाउँदा धेरै नै गौरवान्वित भएको जनाएको छ । ‘हवाई सुरक्षा र परिचालन प्रक्रियाको गुणस्तर बढाउने प्रयासमा यो महत्त्वपूर्ण उपलब्धी हो । यस उपलब्धीले सम्पूर्ण टीमको कडा परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको छ’ यती एयरलाइन्सका सीईओ सुभाष सापकोटाले भने ‘यात्रुलाई सुरक्षित र भरपर्दो हवाई यात्रा अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई यसले थप पुष्टि गरेको छ।’
आईएसएसए कार्यक्रमले प्रमाण पत्र प्रदान गर्नुपूर्व एयरलाइन्स अपरेटरको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले मूल्यांकन गर्छ। विभिन्न चरणमा मूल्यांकन गरी विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेकोले यती एअरलाइन्सलाई आईएसएसए अपरेटरको मान्यता दिइएको हो।
पछिल्लो समय एयरलाइन्सले विश्वव्यापी उड्डयन सुरक्षा मापदण्ड पूरा गरी अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रम र सुरक्षा व्यवस्थापन प्रणालीमा ठूलो लगानी गरेको छ । यती एयरलाइन्सको अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण पत्र प्राप्तिले पुष्टि गरेको कम्पनीले जनाएको छ।
यती एयरलाइन्स सन् २०१६ देखि आईएसएसए अपरेटरको रुपमा दर्ता हुँदै आएको छ ।
FACEBOOK COMMENTS