काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानले आज सञ्चार मन्त्रालयका मन्त्री, सचिव, सहसचिवहरू र कर्मचारीहरू माझ योग अभ्यास प्रशिक्षण प्रदान गरेको छ ।
सार्वजनिक प्रसारण संस्था रेडियो नेपालको सभाहलमा गरिएको योग अभ्यास कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिवहरू र कर्मचारीहरूले योग अभ्यास गरेका छन् ।
कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एलपी भानु शर्माले विभिन्न तीन योग आशन प्रशिक्षण दिए । उनले मानव जीवनलाई सरल, सहज, निरोगी, शान्त र समृद्धितर्फ उन्मुख हुन अनिवार्य योग अभ्यास गर्नुपर्ने सुझाव दिएका छन् ।
उनका अनुसार सरकारले नागरिकलाई योग जीवनशैलीको विकास गराउन नीतिगत व्यवस्थामा ख्याल गर्नुपर्छ । जसले योग गर्छ उसले लामो समय जीवनयापन गर्छ भन्ने सन्देशसँगै योग गुरु शर्माले आध्यात्मिक जीवनतर्फ प्रेरित गरे ।
सो अवसरमा मन्त्री गुरुङले आफूलाई चिन्न सके धेरै सफलता हात पार्न सकिने धारणा व्यक्त गर्दै कुशल नागरिक बन्न योग र ध्यानले आन्तरिक रूपमा सघाउ पुर्याउने विचार व्यक्त गरे ।
त्यस्तै, सञ्चार सचिव राधिका अर्यालले कर्मचारीहरूप्रति केन्द्रित हुँदै शान्त, अनुशासित र जिम्मेवार कार्यसम्पादनमा जीवनशैली प्रेरित गर्नु पर्ने बताइन् । त्यसका लागि आफ्नो दैनिकीलाई जति सक्दो शान्त र स्वस्थ राख्नुपर्ने धारणा व्यक्त गर्दै उनले योग अभ्यास कार्यक्रमलाई मन्त्रालयले महत्वका साथ लिएको बताइन् ।
FACEBOOK COMMENTS