काठमाडौं । गायक अमात्यको बाराको विश्रामपुरमा बिरुवा भूमि वनकाली कम्पनीको नाममा १२ बिघा जग्गा थियो। उक्त जग्गा नै अर्कै कम्पनीमा रहेको भन्ने कागजात बनाएर योजनाबद्ध तरिकाले १९ करोड रुपैयाँ हत्याउन नक्कली लालपूर्जा बनाएको खुलेको छ। मालपोतमा भने अमात्यकै कम्पनी बिरुवाको नाममा उक्त जग्गा छ।
केही वर्षयता खाली रहेको उक्त जग्गा बिक्री गर्ने हो भन्दै सोध्न आउनेहरु थुप्रै थिए । जग्गा हेर्न राखेका व्यक्तिले अमात्यलाई त्यसबारे बेलाबेला खबर पनि गरेका थिए । ‘धेरै मान्छे आउन थालेपछि मैले यो जग्गा बिक्रीमा छैन भनेर बोर्ड राख्न पनि लगाएको थिएँ,’ जग्गाधनी अमात्यले प्रहरीसँग बयान दिँदै भनेका छन्, ‘तर मैले थाहै नपाई त्यही जग्गाको धनी पूर्जा अर्कैले बनाइसकेछ ।’गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको घटनामा कुमारी बैंककै भूमिका शंकास्पद देखिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार अमात्यको बारास्थित जग्गाको नक्कली पूर्जा बनाएर ऋण प्रवाह गरिएको घटनामा बैंकले नै तथ्य लुकाएको पाइएको छ।
९ करोड ऋण उठाउन खोज्दा उल्टै फसियो
हाल सीआईबीको हिरासतमा रहेका काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र कुसुम प्रधान घरजग्गा कारोबारी हुन्। उनीहरु तीनै जनाबीच पहिले नै चिनजान रहेको र सहकार्यमा काम हुँदै आएको पाइएको छ।
घरजग्गाको काम गर्ने सिलसिलामा एसके र मुक्तिलालले कुसुमसँग ९ करोड रुपैयाँ लिन बाँकी रहेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन्। ९ करोड रुपैयाँ लिन खोज्दा उल्टै आफूहरु फसेको उनीहरुको दाबी छ।
एसके र मुक्तिलालको ९ करोड रुपैयाँ तिर्नुपर्ने भएपछि कुसुमले बारामा रहेको १२ बिघा जग्गा नै उनीहरुको कम्पनीको नाममा नामसारी गरिदिने बताएका थिए। सोही अनुसार एसके र मुक्तिलालको डेनियल ट्रेडिङको नाममा उक्त जग्गा नामसारी गरेर लालपूर्जा समेत निकाल्ने काम कुसुमले नै गरेको भेटिएको सीआईबीका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंह बताउँछन्।
नक्कली लालपूर्जा बनाएर उनीहरुको कम्पनीको नाममा १२ बिघा जग्गा रहेको प्रमाण जुटाउने काम कुसुममार्फत भएको अनुसन्धानबाट खुलेको छ। कुसुमले नक्कली लालपूर्जा बनाएर आफूलाई फसाउन खोजेको भन्नेबारे आफूहरुलाई केही थाहा नभएको एसके र मुक्तिलालको दाबी छ। आफ्नो कम्पनीको नाममा आएको उक्त जग्गा राखेर १९ करोड ऋण लिइसकेपछि बैंकबाट जग्गा नै अर्काको नाममा रहेकाले ऋण असुली गर्न आउनु पर्यो भन्दै खबर गरेपछि मात्रै कुसुमले नक्कली कागजात बनाएर जग्गा दिएको थाहा पाएको एसके र मुक्तिलालले प्रहरीमा बयान दिएका छन्।
४ जना अझै फरार
यस प्रकरणमा प्रहरीले अहिलेसम्म पर्सास्थित कुमारी बैंक शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसिया, काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र अर्का बिचौलिया कुसुम प्रधानलाई पक्राउ गरेको छ। तर, यो प्रकरणमा बैंकका कर्मचारीसहित ४ जना अझै फरार छन्।
फरार रहेका उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। जग्गाको लालपूर्जा नक्कली भएको थाहा हुँदाहुँदै कुमारी बैंकको पर्सा शाखाका कर्मचारी (हाल फरार)को मिलेमतोमा नै ऋण दिइएको प्रहरीले दाबी गरेको छ। बाँकी ३ जना भने कुसुममार्फत परिचालित भएका व्यक्तिहरु रहेको पाइएको छ।
योगेश्वरको जग्गा देखाउनेदेखि नक्कली लालपूर्जा बनाउनेसम्मको काम उनीहरुबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
केन्द्रीय कार्यालय ऋण स्वीकृत
नक्कली लालपूर्जा राखेर १९ करोड रुपैयाँ ऋण दिने प्रकरणको ‘नेक्सस’ पर्सा, काठमाडौंको न्यूरोड शाखादेखि काठमाडौं नक्सालमा रहेको कुमारी बैंकको केन्द्रीय कार्यालयसम्म जोडिएको सीआईबीका अनुसन्धान अधिकारीको दाबी छ।
१२ बिघा जग्गाको नक्कली लालपूर्जा राखेर ऋण लिन भन्दै कुमारी बैंकको पर्सास्थित शाखामा २०७८ भदौमा कागजात पेस भएको थियो। उक्त कागजात अध्ययनका लागि भनेर काठमाडौंको न्यूरोड शाखा हुँदै केन्द्रीय कार्यालय नक्सालसम्म पठाएको देखिएको अनुसन्धानबाट खुलेको छ। केन्द्रीय कार्यालयले समेत उक्त कागजातलाई सदर गर्दै ऋणका लागि स्वीकृत गरेको देखिएपछि ऋण प्रवाह भएको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी श्यामकुमार महतोले बताए।
पर्सा शाखादेखि न्यूरोड हुँदै केन्द्रीय कार्यालय नक्सालसम्मले स्वीकृत गरेको पाइएपछि त्यस कार्यालयका सम्बन्धित कर्मचारी पनि अनुसन्धानमा तानिने भएका छन्। डीआईजी सिंह भन्छन्, ‘यसको नेक्सस हामी केलाउँदै छौं। पर्सादेखि न्यूरोड शाखा हुँदै केन्द्रीय कार्यालयसम्मबाट ऋण स्वीकृत भएको पाइएको छ। यसमा कसको के भूमिका देखिन्छ, हामी अनुसन्धान गर्दैछौं।’
यता बैंकले भने कोरोनाका कारण फिल्ड र मालपोतमा गएर जग्गाको विवरण हेर्न नपाएको बताएको छ।
FACEBOOK COMMENTS