काठमाडौं । कांग्रेस महामन्त्री पदमा पुग्न दोस्रो पुस्ताका नेता मात्रै मैदानमा देखिएका छन् ।
सभापतिपछि कार्यकारी भूमिकामा महामन्त्री शक्तिशाली मानिन्छ। विगतका महाधिवेशनबाट यो पदमा एक जना मात्र निर्वाचित हुने व्यवस्था थियो। तर, विधान संशोधनपछि १४औं महाधिवेशनबाट दुई महामन्त्री निर्वाचित हुनेछन्। १४ पदाधिकारीमा कोषाध्यक्षबाहेक अरू निर्वाचित हुने व्यवस्था कांग्रेसले गरेको छ।
महामन्त्रीका आकांक्षीहरू प्यानलमै उम्मेदवार बन्ने दाउमा देखिन्छन्। सभापति शेरबहादुर देउवा पक्षबाट बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक र विश्वप्रकाश शर्मा आकांक्षी छन्। राप्रपाबाट एकता गरी आएका सुनील थापा पनि संस्थापनबाटै उम्मेदवार बन्न ‘लबिङ’ गरिरहेको नेताहरू बताउँछन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट डा. मीनेन्द्र रिजाल, गगन थापा र धनराज गुरुङ आकांक्षी छन्। नेता कृष्णप्रसाद सिटौला समूहबाट प्रदीप पौडेल आकांक्षी छन्।
थापा पौडेल पक्षलाई एकजुट बनाएर आफू उम्मेदवार बन्ने रणनीतिमा रहेको नेताहरू बताउँछन्। देउवाइतर समूहबाट सभापतिमा साझा उम्मेदवार बन्ने धारणा नेताहरूले राख्दै आए पनि सहमति जुटेको छैन। पौडेल समूहबाट जसले सभापति पाउंँछ, त्यहीभित्रको अर्को पक्षले महामन्त्री पाउने नेताहरू बताउँछन्। डा. शशांक कोइरालाले सभापति पदको उम्मेदवारी नपाए डा. रिजाललाई महामन्त्री अघि सार्ने सम्भावना छ। डा. शेखर कोइराला सभापतिको उम्मेदवार नबने गुरुङलाई महामन्त्रीमा अघि सार्ने सम्भावना रहेको युवा नेता बताउँछन्।
तरुण दल र नेवि संघको सांगठनिक ‘नेटवर्क’मा राम्रो पकड भएका खाँण सशक्त दाबेदार देखिएका छन् । तर, देउवा पक्षकै सहमहामन्त्री डा। महत भन्छन्, ‘सबै शीर्ष नेतृत्वसँग छलफल गरेरै अगाडि बढेको छु। सहमहामन्त्री भइसकेकाले महामन्त्रीमा मेरो उम्मेदवारी स्वाभाविक हो।’ २०४८ मै नेवि संघ सभापति भएका साउद पनि संगठनमा बलिया छन्। ‘मेरो उम्मेदवारीको पहिलो प्राथमिकता नै महामन्त्री हो’, उनी भन्छन्, ‘शीर्ष नेतृत्वमा मिलेर जानुप¥यो भने पनि म प्रमुख पदाधिकारी पदको उम्मेदवारबाट बाहिर जान्नँ।’ देउवानिकट अर्का नेता लेखक महामन्त्री पदमा आफूले उम्मेदवारी पाउनुपर्ने बताइरहेका छन्। प्रवक्ता शर्माले उम्मेदवारी घोषणा नै गरिसकेका छन्।

पौडेल पक्षमा सहमति भए गुरुङ सहमहामन्त्रीको उम्मेदवार हुन सक्ने नेताहरू बताउँछन्। शिव हुमागार्इं, उमाकान्त चौधरी, प्रदीप पौडेल, गुरु घिमिरे, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, रामकृष्ण यादवलगायत नेताले सहमहामन्त्री उम्मेदवार सुरक्षित हुन महामन्त्रीमा दाबी गरिरहेको नेताहरू बताउँछन् । समानुपातिक समावेशी समूहबाट आठ सहमहामन्त्रीको व्यवस्था छ। खुला सहमहामन्त्रीमा देउवाको टिमबाट सुरेन्द्र पाण्डेलगायत नेता दाबेदार रहेको आजको अन्नपूूर्ण पोष्ट दैनिकमा समाचार छ ।
