काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ । काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा बिहान ८ बजेदेखि मतदान हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ। सभापतिसहित १ सय ३४ पदका लागि हुने निर्वाचनमा ४ सय ९० जना प्रतिस्पर्धामा छन्।
५ सय ४८ जनाले शनिबार विभिन्न पदमा उम्मेदवारी दिए पनि सभापति र सहमहामन्त्रीका एकएकसहित ५८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। प्रदेश नम्बर २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन्। उनीहरू दुवै देउवानिकटका हुन्।
अब १ सय ३२ पदमा मात्र निर्वाचन हुनेछ। सभापतिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई समर्थन गर्दै आइतबार फिर्ता लिएका छन् । अब सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवा,शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ छन्। वर्तमान सभापतिसमेत रहेका देउवा सोमबार हुने निर्वाचनबाटै परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा छन्।
अन्य प्रत्याशी भने देउवालाई पहिलो चरणमा रोक्ने कसरतमा जुटेका छन्। पहिलो चरणमा देउवालाई रोक्दै दोस्रो चरणमा उनीविरुद्ध मोर्चाबन्दी गर्ने रणनीति अख्तियार गरेको निकट स्रोतहरूको दाबी छ । देउवाविरुद्ध संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाउन असफल भएका नेताहरू दोस्रो चरणमा उनको विकल्प खोज्न एकै ठाउँमा उभिने विश्लेषण गरिएको छ। त्यस्तो अवस्थामा पार्टीको १४औं महाधिवेशनले देउवाको विकल्प दिने नेताहरूको दाबी छ।
पहिलो चरणमा कसैले पनि सभापतिमा नजित्ने दाबी गर्दै सोही पदका उम्मेदवार विमलेन्द्र निधिले भने, ‘दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ। त्यस बेला देउवाइतर रहेका हामी सबै एक हुन्छौं। म, प्रकाशमान र शेखरमध्ये जसले बढी मत ल्याउँछ,सबैले उसैलाई सघाउँछौं।’
सभापतिका अर्का उम्मेदवार कोइरालाले भने आफू पहिलो चरणमै निर्वाचित हुने दाबी गरेका छन्। आफूसँग राम्रो टिम रहेको र पार्टीको पुरानो लिगेसी पनि रहेको दाबी गर्दै उनले भने, ‘ढुक्क हुनुहोस्, म पहिलो चरणमै सभापति जित्छु।’ तर संस्थापन इतरबाट पूर्वमहामन्त्री सिंहले पनि उम्मेदवारी दिएका कारण इतर पक्षका उम्मेदवारले पहिलो चरणमा विधानको व्यवस्थाअनुसार ५० प्रतिशत मत कटाउन कठिन रहेको विश्लेषण गरिएको छ।
पार्टीका दुई प्रभावशाली नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री शशांक कोइराला शेखर र प्रकाशमान दुवैका पक्षमा खुलेका छैनन्। त्यसको असर सिंह र शेखर दुवैलाई पर्नसक्ने विश्लेषण गरिएको छ। तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला पनि सिंह समूहबाट उपसभापतिको उम्मेदवार बनेकी छन्।
त्यसले शेखरलाई कति नोक्सान गर्छ र सिंहलाई कति लाभ पुग्छ, निश्चित छैन। तर उनीहरू दुवै प्रतिस्पर्धामा उत्रिँदा पहिलो चरणमा विधानको व्यवस्था अनुसारको मत प्राप्त गर्न भने कठिन हुनसक्ने निकटहरूको बुझाइ छ । दोस्रो चरणमा सभापतिको निर्वाचन जाँदा शेखर, सिंह, निधि र गुरुङ एकै ठाउँमा उभिने अवस्था आउने निकटहरूको बुझाइ छ।
देउवालाई पहिलो चरणमा सभापतिमा निर्वाचित हुन संस्थापन पक्षबाटै सभापतिको उम्मेदवार बनेका निधिले रोक्ने उनीहरूको बुझाइ छ। संस्थापन इतर समूहमा मात्र नभएर संस्थापन पक्षमा पनि देउवा र निधि सभापतिको प्रत्याशी बनेको कुरालाई भुल्न नहुने बताइन्छ। तर संस्थापन पक्षले भने पहिलो चरणमै देउवाले बहुमत ल्याउने दाबी गर्दै आएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS