काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवाहरूको ऊर्जा समाजको अग्रगामी रूपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताएका छन् ।
अखिल (क्रान्तिकारी) का नवनिर्वाचित पदाधिकारीहरूले आज उनको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष दाहालले युवाहरू शैक्षिक आन्दोलनको अगुवाइ र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुन सके देशको मुहार फेरिने बताए ।
भेटका क्रममा अध्यक्ष दाहालले भने, ‘आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित युवाको ऊर्जा नेपाली समाजको अग्रगामी रूपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाइ र राजनीतिक आन्दोलनको सेवा गर्न सही ढङ्गले प्रयोग हुने विश्वास लिएको छु ।’
उनले सम्पूर्ण निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै देश विकास, समाज रूपान्तरण र सुशासनका पक्षमा लाग्न तथा गलत क्रियालापविरूद्ध उत्रिन आह्वान गर ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजय सापकोटा, महासचिवमा रोशन थापामगर, कोषाध्यक्ष फूलमाया रानामगरसहितको केन्द्रीय समिति निर्वाचित भएको थियो ।
FACEBOOK COMMENTS