युद्ध युद्ध नै हो
युद्धको विभीषिका मनभित्र मडारिएपछि
आकाश पनि साँघुरो हुन्छ
पीडा र व्यथा पनि
प्रेरणा हुन्छ
न रात हुन्छ
न दिन हुन्छ
युद्धमा केवल युद्ध नै हुन्छ
विवेक र आवेगको सम्मिश्रण हुन्छ
त्यसैले नहेप, साँच्चै नहेप
सानो र होचो देखेर…
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युबराज अधिकारीले लेखेको अप्रकाशित कविता ‘युद्ध युद्ध नै हुन्छ’ का यी हरफहरूले देशको माटो, समाज, स्वाभिमान र आवेगलाई उजागर गरेको छ । केही महिनाअघि नेपाल वायुसेवा निगमको पछिल्लो अवस्थाका बारेमा अन्तर्वार्ता लिन निगमकै केन्ऽीय कार्यालय सुन्धारा पुगेको कर्पोरेट खबरको टोलीलाई उनले सुनाएको कविता हो– ‘युद्ध युद्ध नै हो’ ।
अन्तर्वार्ताको अन्तिमतिर हामीले उनको फरक पाटोको बारेमा पनि केही कुराकानी गर्ने जमर्को गर्यौँ । र अन्तर्वार्ताकै क्रममा सोध्यौँ, तपाइँको लेखन र साहित्य यात्राका बारेमा पनि केही कुरा गरौँ न ? उनले खुसी हुँदै भने– हुन्छ गरौँ, तर म पहिला तपाइँहरूलाई एउटा कविता सुनाउँछु भनेर आफ्नो कविता ‘युद्ध युद्ध नै हुन्छ’ सुनाए । रगत तात्ने मात्रै होइन उमाल्ने नै खालको त्यो कविता सुनिरहँदा हामीलाई कुनै चर्चित साहित्यकारको समीपमा रहेको अनुभूति भयो ।
तर, अधिकारीसँग साहित्यकार, गीतकार वा लेखकको परिचय नभइ देशको एकमात्र राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षको मात्र छ । अहिलेलाई उनको यो सृजनशीलता र फरक पाटो बसीबियाँलाको रूपमा मात्रै सीमित छ । आफ्नो सेवा निवृत्तिपछि सृजनशीलतालाई अघि बढाउने सोच उनको छ । ‘सेवा निवृत्तिपछि यस क्षेत्रमा अझै काम गर्नेछु । विभिन्न पुस्तकहरू जम्मा गरेर राखेको छु । फुर्सदमा पढ्छु । अध्ययन गर्न औधि मन पर्छ । १५–२० वटा पुस्तक पढेर एउटा लेखियो भने त्यो अर्थपूर्ण बन्न सक्छ भन्ने मलाई लागेको छ,’ उनले भने ।
निगममा रहेर लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै हाल नेतृत्व तहमा पुगेका उनले योबाहेक अरु धेरै सृजनाहरू गरेका छन् । तर, केही प्रकाशित छन् भने धेरैजसो अप्रकाशित छन् । वि.सं. २०३४ सालतिर हाइस्कुलको विद्यार्थी हुँदा प्रकाशित कविता संग्रह ‘मेरा चित्कारहरू’ र वि.सं. २०७४ सालमा ‘देउरालीको फूल’ नामक एल्वम निकालेयता उनको कुनै पनि सृजनाहरू प्रकाशमा आउन सकेका छैनन् । विभिन्न जिम्मेवारी र व्यस्तताका कारण आफ्ना सृजनाहरूलाई प्रकाशमा ल्याउन नसकिएको उनको भनाइ छ । तर कन्दरा, सृजना, संरचनाजस्ता साहित्यिक पत्रिकाहरू र ‘चियाबारी’ विष्णु–नवीन स्मृति ग्रन्थ सम्पादन गरेको अनरभव अधिकारीसँग छ ।
‘म सृजनशीलतामा विश्वास गर्छु, लेख, रचना, कविता पढ्ने र लेख्ने गर्छु । केही गीत प्रकाशित छन् । ‘देउरालीको फूल’ एल्बम २०७४ मा प्रकाशमा आएको थियो । फुर्सद नभएर अरु सृजनाहरू प्रकाशमा आउन ढिलो भएका छन् । समयक्रमसँगै बाहिर आउनेछन् भन्ने विश्वास व्यक्त गर्दछु,’ उनले भने । उनका अनुसार ‘देउरालीको फूल’मा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, रामकृष्ण ढकाल र मिना निरौलालगायतको स्वर छ भने सुरेश अधिकारीले संगीत भर्नुभएको छ ।
अब चार–पाँच वटा गीत बजारमा ल्याउने तयारी भइरहेको पनि उनले हामीलाई जानकारी दिए । त्यसमा राजेश पायल राई, अजर जंगम, सुरज थापा, दीप श्रेष्ठलगायतको स्वर संगीत हुने छन् । यस्तै, रञ्जित गजमेरको संगीतमा पनि दुई–तीन वटा गीतहरू तयार भइरहेको अधिकारीले जानकारी दिए ।
सृजनाका लागि कहिल्यै समय अभाव नहुने र खास समय छुट्याउन नपर्ने उनी बताउँछन् । ‘सृजनशीलता भन्ने कुरा व्यस्तताको बावजुद पनि आउँछ । फुर्सद हुँदाको बखत अलि राम्रो हुँदो होला । तर, यही समय भन्ने हुँदैन । लेख्ने कुराको कुनै समय हुँदैन । जुनबेला जहाँ आउँछ त्यही बेला त्यहीँ लेखिहाल्ने हो,’ उनले भने ।
यस्तै, सृजनाहरू प्रगतिशील, जनवादी वा स्च्छन्दतावादीजस्ता घेराहरूमा सीमिति हुन नहुने धारणा उनको छ । जीवन र समाजमा विविधता भएका कारण सृजनाहरू पनि भर्सटाइल (विविधता) हुनुपर्ने उनको बुझाइ छ । ‘खासगरी म कविताहरू बढी लेख्छु । गीतहरू पनि लेख्छु । कथामा पनि रुची छ । सृजनशीलता भर्सटाइल हुनुपर्छ । कोही प्रगतिशील, कोही जनवादी वा कोही कोही स्वच्छन्दतावादी भन्छन् । मलाई लाग्छ हाम्रा सृजनाहरू त्यस्तो एउटा परिधिमा मात्र बाँधिनु हुँदैन,’ उनले भने, ‘मान्छेको जीवन भनेको एउटै हुन्छ । त्यसलाई एकाङ्की रूपले हेर्नु हुँदैन । विविध रूपमा हेर्नुपर्दछ । जीवन र समाज पनि त भर्सटाइ छ । त्यसैगरी मान्छेको सृजनशीलता पनि सबै किसिमको हुनुपर्छ ।’ यति हुँदाहुँदै पनि आफ्नो समाज, आफ्नो परिवेश, आफ्नो संकार–संस्कृति र देशलाई केन्ऽविन्दुमा राखेर काम गर्नुपर्ने उनको भनाइ छ ।
आफ्ना सृजनाहरूले समाजमा सकारात्मक प्रभाव छोड्न सक्नुपर्ने र तत्कालको लोकप्रियता भन्दा जीवन्त रहोस् र केही न केही सन्देश देओस् भन्ने चाहना अधिकारीमा छ । उनले भने, ‘त्यसैले मैले स्कुल र कलेजका विद्यार्थीहरूलाई लक्षित गरेर एउटा कविता लेखेको छु– ‘तिमी तिमीजस्तै हुनु’ । जसले अरुको नक्कल गर्नुभन्दा आफ्नो सृजनशीलता र आफ्नोपनमा विश्वास गर्दछ । यो मानिसको जीवनका लागि नभइ नहुने गुण हो । यसमा पनि हामीले गम्भीर बन्न जरुरी छ ।’
एक टुक्रा जिन्दगी
पीडाहरूले जलेर पनि
छालहरूमा बगेर पनि
विश्वासको पहाडमा उभेर
आस्थाको सगरमाथालाई चुमेर
मान्छेहरूको भिडमा
(थिचिँदै र किच्चिँदै भए पनि
हाँसीहाँसी बाँच्न सकौँ)२
जीवनयात्राको नदीमा
फोहोरहरूलाई सङ्ल्याउँदै
रङ्गविहीन पानीझैँ बहेर पनि
वरिपरि इन्द्रेणी छर्न सकौँ
सायद यही जीवनको रङ्ग हो ।
सायद यही जीवनको रङ्ग हो ।।
***
मान्यता
एक-
डुब्न लागेको सूर्यलाई देखेर
कैँयन्ले ढोका लगाउँछन्
तर कैँयन् आमाहरू
सन्ध्याको आरती पनि गर्छन्
सायद आमाहरूलाई थाहा छ
भोलि फेरि सूर्य उदाउने छ ।
भोलि फेरि सूर्य उदाउने छ ।।
दुई-
आँसु पिएर हाँस्नेहरू
जीवनका महान् स्वरूप हुन्
जीवन आफ्नो लागि मात्र होइन
अरूका लागि पनि ठान्नेहरू
सृष्टिको अनुपम सिर्जना हुन् ।।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS