काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी ईभी ब्राण्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ ।
जिकर चीनको गिली होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्राण्ड हो, जुन अत्याधुनिक प्रविधि र ग्राहककेन्द्रित दृष्टिकोणका साथ मोबिलिटी तथा यातायात क्षेत्रको नेतृत्व गर्न तत्पर छ ।
यसै साता ह्यात रिजेन्सी काठमाडौंमा एक समारोहबीच जिकर ब्राण्ड सार्वजनिक गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, निर्देशकद्वय प्रदीप शारडा र गौरव शारडा र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छासहित अन्य सहभागीहरूको भव्य उपस्थिति थियो ।
सदीक्षा श्रेष्ठद्वारा उद्घोषित कार्यक्रमको औपचारिक सुरूआत आमन्त्रित व्यक्तित्व तथा अतिथिहरूको अभिनन्दनसहित राष्ट्रिय गान बजाउँदै मन्त्री देवेन्द्र दाहाल, शिवरतन शारडा, फेलिक्स हु, एस्टोर झाओ र सन्दीपकुमार शारडाद्वारा पानसमा बत्ती बाली गरिएको हो ।
शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाद्वारा स्वागत मन्तव्य राखिएसँगै अघि बढेको कार्यक्रममा प्रमुख अतिथि, यातायातमन्त्री दाहालद्वारा विशेष मन्तव्यपछि प्रमुख अतिथिलाई विशेष ‘टोकन अफ अप्रिसिएसन’ प्रदान गरियो ।
त्यसैगरी कार्यक्रममा जिकर टिमद्वारा ‘ब्राण्ड प्रिजेन्टेसन’ र जिकर नेपाल टिमद्वारा ‘प्रडक्ट ब्रिफ’ गरियो । साथै कन्टेमपररी डान्स प्रस्तुतिले कार्यक्रममा शोभा बढायो भने ‘प्रडक्ट भिडिओ’ मार्फत नयाँ जिकर एक्स एसयूभीको विस्तृत जानकारी प्रदर्शन गरियो ।
प्रमुख अतिथि दाहाल र शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा र प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाद्वारा जिकर ब्राण्डको डेब्यू मोडल बहुप्रतीक्षित इलेक्ट्रिक एसयूभी ‘जिकर एक्स’ को पहिलो पटक अनावरण गरियो ।
त्यसैगरी नयाँ जिकर एक्ससँगै सहभागी तथा अतिथिहरूको फोटोसुट सेसन पनि सम्पन्न भयो । साथै शारडा ग्रुपका निर्देशक गौरव शारडाद्वारा धन्यवाद ज्ञापनपश्चात कार्यक्रम अन्तरक्रिया तथा ‘ककटेल डिनर’ मा परिणत भयो ।
पायोनियर मोटो कर्पले हालसालै सम्पन्न नाडा अटो शो-२०२४ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको छ । जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूचि राख्ने नेपाली उपभोक्ताहरूको उच्च अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो ।
जिकर एक्स परिष्कृत पर्फमेन्स र अत्याधुनिक सुरक्षा सुविधाहरूसहितको गाडीहरूमध्ये अग्रपंक्तिमा उभिन्छ । यो प्रिमियम एसयूभीमा ‘भोल्भो ईएक्स-थर्टी’ मा प्रयोग भएको जस्तै उच्च गुणस्तरको सुरक्षित र मजबुत प्लेटफर्म प्रयोग गरिएको छ जसले सुरक्षित, परिष्कृत र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
सन् २०१४ मा स्थापित पायोनियर मोटो कर्प प्रालि नेपालमा अग्रणी अटोमोबाइल वितरक हो । शारडा ग्रुपको सहायक (सिस्टर कन्सर्न) कम्पनी रहेको पायोनियर मोटो कर्प नेपालमा जिकरका लागि आधिकारिक वितरक हो ।
FACEBOOK COMMENTS