काठमाडौं । पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा रानीकोट सडकखण्डमा योयो जीपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ ।
जीपलाइनले घ्याम्पेडाँडा हुदै रानीकोट जाने आठ मिटर चौडा सडकको मापदण्ड एवं सामुदायिक वनको जग्गा अतिक्रमण गरेर टिकट काउन्टरदेखि रेष्टुरेन्टसम्म बनाउँदा पनि स्थानीय तहले बेवास्ता गरेको भन्दै स्थानीयले अतिक्रमण रोक्न माग गरेका छन् ।
भक्तपुरकै पर्यटकीयस्थलमात्रै नभई काभ्रेपलाञ्चोकको र्यालेबाट पनौतीसम्म जाने मुख्य सडकको रूपमा प्रयोग हुँदै आएको यो सडक जीपलाइनकै लापरवाहीका कारण पहिराको जोखिममा परेको स्थानीय सन्तमान वाइबाले बताए ।
नाफा कमाउने उद्देश्यले विगत एक वर्षदेखि पूर्णरूपमा सञ्चालनमा आएको व्यावसायिक संस्था योयो जीपलाइनले यहाँको सामुदायिक वनको जग्गासमेत मिचेर संरचना बनाउँदा त्यसलाई रोक्नुको सट्टा त्यस्ता संरचना संरक्षण गर्न वडा कार्यालयले ६० प्रतिशत र जीपलाइनले ४० प्रतिशत बजेट व्यहोर्ने गरी ६०–४० शीर्षकको बजेट हालेर व्यवसायीको निजी सम्पत्ति संरक्षण गरेको रानीकोटका व्यवसायी हर्कमान लामाले गुनासो गरे ।
उनले भने, ‘जीपलाइनले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर संरचना बनाएको छ, वर्षाको समयमा पहिरो जान सुरु भइसक्यो, योयो जीपलाइनको संरचना जोगाउन वडा कार्यालयले जालीसहितको पर्खाल लगाइदिएको छ, अहिले फेरि जीपलाइनले त्यहीँ पर्खाल मुनिबाट करिब ४० फिट गहिरो पहरा खनेको छ, यसले सडकमा पहिरो जाने जोखिम बढाएको छ ।’
जीपलाइनमा आउनेले सडकमै पार्किङ गरिदिँदा रानीकोट र र्यालेका बासिन्दालाई आवतजावतमा समेत कठिनाइ पर्ने गरेको रानीकोटका होटल व्यवसायी बताउँछन् । यसबारेमा पटक–पटक सडकमा पार्किङ नगराइदिन जीपलाइनलाई आग्रह गर्दा अटेर गरेको व्यवसायीको गुनासो छ ।
सडकमा पहिरो गएर रोकिए घ्याम्पेडाँडा रानीकोट जाने पर्यटकको आगमन बन्द हुनुका साथै यहाँबाट काभ्रेको र्याले, पनौती, लाकुरीभञ्याङ जाने सडक नै अवरुद्ध हुने भएकाले क्षति हुनु अगाडि नै स्थानीय तहले यसबारेमा चासो दिनुपर्ने होटल व्यवसायी सुनिल श्रेष्ठले बताए ।
FACEBOOK COMMENTS