काठमाडौँ । रूस-युक्रेन युद्धका बीच युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रूससँग वार्ताका लागि आफूहरू तयार रहेको बताएका छन् । तर कुनै पनि सम्झौता युक्रेनको स्वतन्त्रता र सार्वभौमिकताको मूल्यमा स्वीकार्य नहुने उनले स्पष्ट पारेका छन् ।
जापानी समाचार संस्था क्योडोसँगको अन्तर्वार्तामा उनले अमेरिका लगायत साझेदार मुलुकसँग वार्ता गर्न तयार रहेको उल्लेख गर्दै रूसबाट बारम्बार अल्टिमेटम स्वीकार गर्न नसकिने बताए । उनले भने, ‘रूस आक्रमणकारी राष्ट्र हो भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायले स्वीकार गरिसकेको छ । युद्धको सुरुदेखि मध्यस्थताको प्रयास गर्ने देशहरूले समेत यही तथ्य मानेका छन् ।’
जेलेन्स्कीका अनुसार युक्रेनले ठूलो सम्झौताको संकेतस्वरूप आक्रमणकारी पक्षसँग शान्ति वार्ताको ढोका खुला राखेको छ । उनले बताए, ‘रूसले हाम्रो करिब २० प्रतिशत भूभाग कब्जा गरिसकेको छ । त्यस अवस्थामै हामी शान्तिको कुरा गर्न तयार छौँ, जहाँ छौँ त्यही अवस्थाबाट अघि बढ्ने आधारमा वार्ता गर्न इच्छुक छौँ । यो आफैंमा ठूलो सम्झौता हो ।’ तर उनले सम्झौता गरेपछि रूसले हामीलाई के ग्यारेन्टी दिन्छ रु भन्ने प्रश्न उठाएका छन् । उनले भने, ‘उनीहरू भन्छन् कि बाँकी भूभाग कब्जा गर्दैनौँ, त्यो धम्कीपूर्ण भाषा हो। यस्तो प्रस्ताव सम्झौता होइन, अल्टिमेटम हो ।’
राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सार्वभौमिकता, क्षेत्रीय अखण्डता, सेना र नागरिकको सम्मान हुने आधारमा मात्र सम्झौता सम्भव हुने दोहोर्याए । उनले भने, ‘हामी शान्तिका लागि तयार छौँ, तर धम्की र दबाबका आधारमा हुने कुनै पनि प्रस्ताव स्वीकार्य छैन ।’
FACEBOOK COMMENTS