काठमाडौँ । रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासका बीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने कार्यक्रम तय भएको छ । यो भेटलाई शान्ति वार्तातर्फको महत्वपूर्ण कदम मानिएको छ।
जेलेन्स्कीले यो भेटको उद्देश्य द्वन्द्व समाधानसँग सम्बन्धित बाँकी रहेका मुद्दाहरूलाई अगाडि बढाउनु रहेको बताएका छन् । यद्यपि उनले अहिले नै अन्तिम सम्झौताको अपेक्षा भने नगर्न आग्रह गरेका छन् । उनले वार्ताको क्रममा सकेसम्म धेरै मुद्दाहरूमा सहमतिमा पुग्ने कुरामा ध्यान केन्द्रित हुने बताएका छन् ।
जेलेन्स्कीले अमेरिका र युक्रेनले तयार पारेको २०–बुँदे शान्ति योजना लगभग ९० प्रतिशत पूरा भएको बताए । युक्रेनको लागि युद्धपछिको सुरक्षा ग्यारेन्टी र यसका सहयोगीहरूको भूमिका ट्रम्पसँगको छलफलमा प्रमुख एजेन्डा रहेका छन् । यद्यपि, ह्वाइट हाउसले अहिलेसम्म यो प्रस्तावित बैठकको आधिकारिक रूपमा पुष्टि गरेको छैन । यसको बावजुद, जेलेन्स्कीले सामाजिक सञ्जाल प्लेटफर्म एकसमा नयाँ वर्ष अघि केही प्रमुख निर्णयहरू गर्न सकिने संकेत गरेका छन् । जेलेन्स्कीले लेखेका छन्– ’हामी राष्ट्रपति ट्रम्पसँग उच्चस्तरीय बैठकमा सहमत भएका छौं। नयाँ वर्षअघि धेरै कुरा निर्णय गर्न सकिन्छ ।’
बिहीबारको सुरुमा, जेलेन्स्कीले ट्रम्पका विशेष दूत स्टीव विटकफ र उनका ज्वाइँ जेरेड कुशनरसँग पनि भेटेका थिए । उनले युद्धको अन्त्य र युक्रेनको पुनर्निर्माणसँग सम्बन्धित धेरै कागजातहरू लगभग तयार रहेको बताउदै क्षेत्रीय विवाद र जापोरिजिया आणविक प्लान्टको नियन्त्रण जस्ता मुद्दाहरू अझै पनि समाधान नभएको उल्लेख गरेका छन् । साथै युक्रेनका भूभाग छोड्ने रूसको मागमा अहिलेसम्म कुनै सम्झौता नभएको स्पष्ट गरेका छन् ।
FACEBOOK COMMENTS