काठमाडौं । जेन जी आन्दोलनका क्रममा टीओबी (टिब्बतीय ओरिजनल ब्लड) अंकित पोशाकसहित प्रदर्शन गर्ने तेञ्जिङ दावालाई मंगलबार काठमाडौं जिल्ला अदालतले ५ लाख २० हजार धरौटीमा रिहा गरेको छ ।
त्यस्तो कसुरमा धरौटीमा रिहा हुने दावा पहिलो व्यक्ति हैनन्, उनीअघि जेन–जी आन्दोलनमा विभिन्न प्रकारका उदण्डता प्रदर्शन गर्नेमध्ये हालसम्म ८५ जनाले धरौटी सुविधामा रिहा हुने मौका पाएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार अहिले पनि प्रहरी हिरासतमा ४५ र दैनिक हाजिर जमानीमा छुटेका ९२ जनामाथि अनुसन्धान भइरहेको छ । उक्त प्रदर्शनका क्रममा विभिन्न स्थानमा हातहतियार लुटपाट गर्ने र ज्यान मुद्दाबाहेकका आरोपी प्राय: धरौटी, हाजिर जमानीदेखि साधारण तारेखसम्ममा रिहा भएका छन् । हातहतियार सहित पक्राउ परेकामध्ये १८ जनालाई प्रहरीले हाजिर जमानीमा छोडेको छ ।
काठमाडौंको महाराजगञ्ज र कोटेश्वरमा गरी तीन प्रहरीले ज्यान गुमाएका थिए । उनीहरुको हत्यासँग सम्बन्धित १५ जनाका विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएकोमा सबै पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
धरौटीमा रिहा हुनेमध्ये आपराधिक उपद्रव मुद्दामा ५३ जना छन् । चोरीका १२ र अभद्र व्यवहारका गरी धरौटीमा छुट्नेको संख्या ८५ पुगेको हो। जिल्ला प्रहरीको हिरासतमा अनुसन्धानका निम्ति अहिले ८५ जना राखिएका छन् ।

त्यसमध्ये आपराधिक उपद्रव मुद्दामा ५३, हातहतियारमा ११, चोरीका २, ज्यान मार्ने उद्योगका १ र डाँका चोरीका २ जना छन् । जेन जी आन्दोलनका क्रममा काठमाडौंका विभिन्न स्थानमा विभिन्न कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका मध्ये ९२ जनालाई दैनिक हाजिर जमानीमा प्रहरीले रिहा गरेको छ ।



FACEBOOK COMMENTS