काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले गत भदौ २४ गते देशमा भएका हिंसात्मक घटना कुनै नेपाली मन भएका व्यक्तिले गर्न नसक्ने बताएका छन् ।
लेखकले सोमबार भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष प्रस्तुत गरेको लिखित धारणामा यस्तो बताएका हुन् । “मेरो राजीनामा पछि भदौ २४ गतेका दिन जेजस्ता हिंसात्मक एवं राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्रविरुद्धका घटना भए, ती कुनै देशभक्त नेपालीले कल्पना गर्न सक्ने कुरा थिएनन् ।
राष्ट्रका प्रमुख निकायहरू सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवनसहित राज्यका तीनै प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जलाएर खरानी बनाउने दुस्साहस कुनै नेपाली मनले गर्न सक्छ भन्ने म कल्पना गर्न सक्दिनँ,” उनले भनेका छन् । लोकतन्त्रमा शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्तका प्रतिनिधि संस्थामाथिको आक्रमण जेनजी पुस्ताको सोच र योजनाभन्दा बिल्कुल बाहिरको विषय भएको उनको दाबी छ ।
FACEBOOK COMMENTS