काठमाडौं । भदौ २३ र २४ गते दुई दिनको प्रदर्शनले जेनजीसँग कति पावर छ पुष्टि भइइसकेको छ ।
यस प्रदर्शनमा कलिला बालकको ज्यान गयो । सरकारी सम्पत्ति कुनै बाँकी छैनन् । सरकार ढलिसकेको छ । देश नै जेनजीको नियन्त्रणमा छ, देश खरानीमा परिणत भएको छ । नेता र मन्त्रीलाई ज्यान जोगाउ हम्मेहम्मे भएको अवस्था छ ।
सामाजिक सञ्जालबाट भ्रष्टाचार र बेथितिको विरुद्धमा आजाव उठाइरहेका युवाहरुले सडक आन्दोलन गरेको उक्त परिणाम इतिहासका दस्तावेजमा लेखिने छन् । यो परिवर्तन र विध्वंशलाई अल्फा जेनेरेसनले इतिहासको किताबमा पल्टाउने छन् ।
युवा जागे भने सत्ता परिवर्तन गर्ने ल्याकत राख्छन् मात्रै होइन कसरी शासकीय दस्तावेजहरू खरानी भए भनेर जेनजी पुस्ताले कुनै इतिहास पल्टाउनुपर्ने छैन । किनकी जे जस्तो भयो जेनजीले गरे त्यसको साक्षी पनि जेनजी नै भए ।
देश बनाउने जिम्मा जेनजीलाई
जे हुनु थियो त्यो भयो जे नहुनु थियो त्यो पनि भयो । अब देश बनाउने काम पनि तिनै जेनजीले गर्नुपर्ने छ । ढलेका सार्वजनिक भौतिक संरचना पनि जेनजीले नै उठाउनु पर्छ । खरानी भएका संरचना पनि जेनजीले नै पुननिर्माण गर्नुपर्छ ।
जति पनि देशलाई क्षति भएको छ हामी देश बनाउँछौँ भनेर गरिएको हो त्यसैले पछि हट्ने छुट जेनजीलाई कदापि छैन । सत्ता परिवर्तन गर्न सक्ने जेनजीमा देश बनाउने तागत पक्कै छ । अब देशका जेनजीहरु विध्वंश मच्चाउन छोडेर देश बनाउन जुट्न आवश्यक छ । देश बनाउने कर्तव्य, जिम्मेवारी जेनजीकै हो अब सबै एकजुट हुन जरुरी छ ।
जेनजी कै नेतृत्वमा लागेको आगो निभ्ने छ, सिंहदरबार फेरि बन्ने छ, अदालत, संसद भवन, स्थानीय तहको संरचना पुन:स्थापना हुनेछन् । देश भ्रष्टाचारमुक्त हुनेछ, देश झन् सुन्दर बन्ने छ । अब कुनै पनि राजनितिज्ञले सात पुस्तासम्म पुग्नेगरी जनताका पसिनाको कमाई लुट्ने छैन । त्यसैले जेनजीले आफ्नो एजेण्डा स्पष्ट पारेर यथाशीघ्र अगाडि बढ्न आवश्यक छ ।
विश्वबाट सिक्न आवश्यक
सबै ध्वस्त भयो केही पनि बाँकी रहेन भन्दै पुर्पुरामा हात राखेर बस्न जेनजीलाई छुट छैन । न त देशमा केही अवसर छैन भन्दै विदेशिने छुट अब जेनजीलाई छ । देशको मुहार फेर्नका लागि कलिला बालकहरुले टाउकोमा गोली खाएर ज्यानको बलिदान दिएका छन् । यो कुरा जेनजीले भुल्नु हुँदैन ।
विश्वका कतिपय देशहरु युद्धका कारण, आन्दोलनका कारण ध्वस्त भएका छन् र फेरि सुन्दर देशको रुपमा स्थापित भएका छन् । नयाँ नेपाल बन्ने छ । पहिलाको भन्दा सयौँ गुणा राम्रो बन्नेछ ।
अब चर्चा गरौँ विश्वमा झन्डै नाम मेटिएर फेरि बनेका देशका
सन् १९४५ मा दोस्रो विश्वयुद्धको समयमा जापानको हिरोशिमा परमाणु बमले सहर पूर्णरुपमा ध्वस्त भयो । लाखौँ मानिसको ज्यान गयो, सहर खरानीमा परिणत भयो । अहिले त्यहाँ आधुनिक भवन, हिरोशिमामा पिस पार्क, स्मारकहरू बनेका छन् । जापान विश्वकै शान्ति देशको रुपमा स्थापित भएको छ ।
हिरोशिमा पछि जापानको ठूलो सहर नागासाकी सहरलाई पनि परमाणु बमले सहरलाई ध्वस्त बनायो । युद्धपछि उक्त सहर आधुनिक सहरको रूपमा पुन:निर्माण भयो । अहिले ति दुई सहर पूर्णरुपमा ध्वस्त भएका थिए र जस्तो लाग्छ ।
दोस्रो विश्वयुद्धको समयमा जर्मन सेनाले पोल्याण्डको राजधानी वारसको ८५५ भन्दा बढी संरचना नष्ट गरेको थियो । अहिले सो सहर युनेस्को वर्ल्ड हेरिटेज बनेको छ । सन् १६६६ को ‘ग्रेट फायर अफ लण्डन’ले बेलायतको राजधानी लण्डन करिब ८० प्रतिशत नष्ट गर्यो । पछि सुन्दर सहरको रुपमा स्थापित भयो ।
सन फ्रान्सिस्को क्यालिफोर्निया प्रान्तस्थित अमेरिकाको न्यूयोर्कपछिको महत्वपूर्ण सहर हो । जुन सहर सन् १९०६ को भूकम्प र त्यसपछि लागेको आगलागीका कारण सहरको धेरै भाग खरानी भएको थियो । अहिले उक्त सहर झनै बलियो भएर उभिएको छ ।
जर्मनीको सैक्सोनी प्रान्तको राजधानी ड्रेस्डेन पनि दोस्रो विश्वयुद्धमा अलाइड फोर्सेसको बम आक्रमणले सहरलाई ध्वस्त बनाएको थियो । नामोनिसान नै मेटिएको उक्त सहर पुन:निर्माण भयो ।
१९७५–१९९० मा भएको गृहयुद्धमा लेबनानको राजधानी बेइरुत ध्वस्त भएको थियो । अहिले उक्त सहर आधुनिक र ऐतिहासिक मिश्रणको सहर बनेको छ । विश्वका यी सहरहरूको विनास र पुनर्निर्माण एक गतिलो उदाहरण हो देश फेरि बनाउन सकिन्छ, सहर फेरि सिङ्गार्न सकिन्छ, तर अब अभावको बाहाना बनाउने छुट छैन ।
FACEBOOK COMMENTS