काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा आज जिम्बाब्वे र वेस्ट इन्डिज आमने सामने हुदैछन् । मुम्बईको वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुने तालिका रहेको छ ।
जिम्बाब्वे प्रतियोगिताको आश्चर्यजनक टिम मध्ये एक हो । उनीहरूले ओमानमाथि आठ विकेटको सहज जित हासिल गर्दै आफ्नो विश्वकप सुरु गरेका थिए र त्यसपछि अष्ट्रेलियामाथि २३ रनको शानदार जित हासिल गरे । आयरल्याण्डविरुद्ध वर्षाले रोकिएको खेलले उनीहरूको गतिलाई खासै बाधा पुर्याउन सकेन, किनकि उनीहरूले १७८ रनको लक्ष्य पछ्याउँदै श्रीलंकालाई छ विकेटले पराजित गरे । समूह चरणमा अपराजित, जिम्बाब्वेको बल उनीहरूको बलिङ र शीर्ष क्रम रहेको छ । ब्रायन बेनेटले इनिङ्सलाई उत्कृष्ट रूपमा सम्हालेका छन् भने सिकन्दर राजा र रायन बर्लले मध्य ओभरहरूमा योगदान दिएका छन् । ब्लेसिङ मुजाराबानीको नेतृत्वमा रहेको उनीहरूको पेस आक्रमणले लगातार सफलता हासिल गर्दै आएको छ ।
अर्कोतर्फ, वेस्ट इन्डिज यस विश्वकपमा उत्तिकै प्रभावशाली देखिएको छ । उनीहरूले स्कटल्याण्ड, इङ्गल्याण्ड, नेपाल र इटालीलाई पराजित गर्दै आफ्नो समूहको शीर्ष स्थानमा पुगेर सुपर आठ खेल्न लागेका छन् । उनीहरूको ब्याटिङ आक्रामक रहेको छ, जसमा शाई होपले स्थिरता प्रदान गरेका छन् भने शिमरोन हेटमायर र रोभम्यान पावेल जस्ता खेलाडीहरूले आक्रामक ब्याटिङ थपेका छन् ।
जिम्बाबे र वेस्ट इण्डिजबीच अहिलेसम्म केवल ४ टी-२० खेल भएका छन् । जसमा वेस्ट इण्डिजले ३ खेल जितेको छ भने जिम्बाबेले एक खेल जितेको छ ।
वेस्ट इन्डियन कप्तान शाई होप जिम्बाब्वेविरुद्धको उत्कृष्ट ब्याट्सम्यान हुन सक्छन्, किनकि उनले चार खेलमा ५१.६६ को औसत र १३४.७८ को स्ट्राइक रेटमा १५५ रन बनाउन सफल भएका छन् । उनले समुह चरणमा दुई अर्धशतक बनाएर राम्रो लय देखाएका छन् ।

त्यस्तै जिम्बाब्वेका ब्लेसिङ मुजाराबानी आफ्नो टोलीको आगामी खेलमा उत्कृष्ट बलर हुन सक्छन् । अग्ला तीब्र गतिका बलरले अहिलेसम्म उत्कृष्ट प्रतियोगिता खेलेका छन्, उनले तीन इनिङमा ५.९१ को इकोनोमीमा नौ विकेट लिएका छन् र यस संस्करणको तेस्रो सर्वाधिक विकेट लिने बलर हुन् ।

सम्भावित प्लेइङ ११:

जिम्बाब्वे: ब्रायन बेनेट, तादिवानाशे मारुमानी (विकेटकिपर), रायन बर्ल, सिकन्दर राजा (कप्तान), डियोन मायर्स, टोनी मुनयोंगा, ताशिंगा मुसेकिवा, वेलिंग्टन मसाकाड्जा, ब्राड इभान्स, ग्रीम क्रेमर र ब्लेसिङ मुजाराबानी ।

वेस्ट इन्डिज: ब्रान्डन किंग, शाई होप (विकेटकिपर/ कप्तान), शिमरोन हेटमायर, रोस्टन चेस, शेर्फेन रदरफोर्ड, रोभम्यान पावेल, जेसन होल्डर, म्याथ्यू फोर्ड, अकिल होसेन, गुडाकेश मोटी र शमार जोसेफ ।
FACEBOOK COMMENTS