काठमाडौं, जेठ ४ – सरकारले कोरोना भाइरसका संक्रमितहरूलाई अतिआवश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिण्डर जम्मा गर्ने कामलाई तीव्रता दिन थालेको छ । चीन सरकारले अनुदानमा दिएको २० हजार थान अक्सिजन सिलिण्डरमात्रै नेपाल ल्याइयो भने पनि अहिलेको अवस्थामा धेरै सहजता आउने निष्कर्षका साथ ती सिलिण्डर ल्याउने कामलाई तीव्रता दिएको हो ।
यसैबीच हिजो अक्सिजन सिलिण्डर लिन चीनको राजधानी बेईजिङ गएको नेपाल एयरलाइन्सको जहाज आज साँझ काठमाडौं आइपुग्दै छ । जहाजमा ल्याइएको सिलिण्डर अनलोड गरेलगत्तै उक्त जहाज आजै पुनः बेईजिङ जाने बताइएको छ । ‘आज बेइजिङबाट नेपाल एयरलाइन्सको जहाज अक्सिजन सिलिण्डर लिएर काठमाडौं आउँदैछ । यो जहाज पुनः सिलिण्डर लिन आजै राति बेइजिङ उडाउने तालिका छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भनेको छ ।
कार्यालयका अनुसार आज बिहान हिमालय एयरलाइन्सको जहाज कुनमिङबाट कार्गो लिएर आएको छ । हिमालयको अर्को जहाज आज राति फेरि कुनमिङ जाने तालिका छ ।
FACEBOOK COMMENTS