‘सामाजिक सञ्जालको दुरूपयोग, अभिभावकबाट टाढिएका र यौन शिक्षाको अभावले आपराधिक घटना भएका देखिन्छन् ।’
काठमाडौँ, असोज २४ – कञ्चनपुरको लालझाडी गाउँपालिका–४ की १९ वर्षीया युवती असोज १५ गते स्थानीय शनिदेव रानाबाट बलात्कृत भइन् । प्रहरीका अनुसार दिउँसो घरमा कोही नभएका बेला उनलाई शनिदेवले बलात्कार गरेका हुन् ।
घटनाको दोस्रो दिन युवतीकै जाहेरीका आधारमा शनिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले बताए ।
शुक्लाफाँटा नगरपालिका–१० कमैया मुक्ति शिविरकी ११ वर्षीया बालिका घरमा एक्लै थिइन् । साउन अन्तिम साता असैनाका २८ वर्षीय रमेश चौधरीले उनलाई ललाइफकाई घर नजिकैको मकैबारीमा लगे । बालिका रुन थालेपछि मुख च्यापेर बलात्कार गरे । रमेशलाई दोस्रो दिन प्रहरीले पक्राउ गर्यो । जिल्ला अदालत कञ्चनपुरले हाल उनलाई पुर्पक्षका लागि कारागार पठाएको छ । भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका ३० वर्षीय हेमन्त चन्द पनि साउन २५ मा पक्राउ परे । भीमदत्त नगरपालिका–४ भगतपुरमा डेरा गरी बस्ने १९ वर्षीया युवतीलाई ०७६ मंसिरदेखि पटक–पटक जबर्जस्ती करणी गरेको र कसैलाई भनेमा अनुहारमा एसिड फाल्ने धम्की दिँदै आएका हेमन्त हाल पुर्पक्षका लागि कारागारमा छन् ।
यी केही प्रतिनिधि घटना मात्रै हुन् । चालु आर्थिक वर्षमा मात्रै बलात्कारका घटनाको विवरण लामो छ । दुई वर्षअघि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका बेलादेखि कञ्चनपुरबाटै सुरु भएको बलात्कारविरुद्धको आन्दोलन देशभरि नै चर्कियो । यद्यपि उक्त घटनाका दोषी अझै पत्ता लाग्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको अढाई महिनामा मात्रै बलात्कारका १४ घटना सार्वजनिक भएका छन् । गत आर्थिक वर्षमा बलात्कारका ४० घटना सार्वजनिक भएका थिए । आर्थिक वर्ष ०७५/७६ मा ३४ र ०७४/७५ मा १८ बलात्कारका घटना प्रहरीसमक्ष पुगेका थिए । प्रहरीको तथ्यांकअनुसार कोरोना संक्रमणको जोखिमका कारण गरिएको लकडाउनको अवधिमा समेत बलात्कारका घटना धेरै भएका छन् । ‘सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमको दुरुपयोगले यी घटना बढेको देखिन्छ,’ डीएसपी अमरबहादुर थापाले भने, ‘अभिभावकबाट टाढा भएका र यौन शिक्षाको अभावमा समेत यस्ता घटना वृद्धि भएको हुन सक्छ ।’ तथ्यांकअनुसार बलात्कार घटनामा २०र२५ वर्षका युवाको संलग्नता बढी देखिन्छ ।
बलात्कारका घटना मात्रै नभई जिल्लामा अन्य आपराधिक गतिविधिसमेत बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७४/७५ मा ५ सय ५१ अपराधका घटना प्रहरीमा दर्ता भएका छन् भने ०७५र७६ मा ६ सय ३४ र गत आर्थिक वर्षमा ७ सय ४ अपराधका घटना दर्ता भएका छन् ।
पछिल्लो पटक लकडाउनको अवधिमा भारतलगायत तेस्रो मुलुकबाट ठूलो संख्यामा नेपाली घर फर्किएका छन् । उनीहरू लामो समयदेखि बेरोजगार बसेका छन् । यस्तो अवस्थामा सामाजिक सञ्जालको दुरुपयोगसँगै बेरोजगारी र अभावका कारण आपराधिक मानसिकता विकास भएको हुन
सक्ने अधिकारकर्मी बताउँछन् । ‘बेरोजगारी र अभावले आपराधिक मानसिकता बढ्दै गएको छ,’ माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘यसतर्फ सबैले समयमै सचेत हुनुपर्ने देखिन्छ ।’
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS