काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्योग, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
शनिबार उद्योग वाणिज्य महासंघको प्रतिनिधि टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता जनाएका हुन् । भेटका क्रममा उनले औद्योगिक क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न शीर्षकमा लगाएको करका कारण व्यवसायीहरुमा सर्वत्र त्रास फैलिएको भन्दै महासंघको टोलीले सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघकी अध्यक्ष भवानी राणाले अनावश्यक करको बोझको अन्त्य, पूराना औद्योगिक नीति परिवर्तन लगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या र चुनौती सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको बताइन् ।
भेटमा प्रधानमन्त्रीले उद्योग क्षेत्रको सुधार र विस्तारका लागि बुँदागत सुझाव दिन भनेको पनि उनले जानकारी दिइन् ।
पछिल्लो समय तीनै तहका सरकारले विभिन्न शीर्षकमा लगाएको करले आफुहरुलाई आतंकित बनाएको भन्दै व्यवसायीले त्यसको विरोध गर्दै आएका छन् ।
FACEBOOK COMMENTS