काठमाडौं, २६ मंसिर- अब मोबाइल एपबाटै शेयर भर्न सकिने भएको छ । नेपाली पूँजी बजारमा सक्रिय लगानीकर्ताहरुले मेरो शेयरको मोबाइल एपबाटै आईपीओ भर्न सक्ने भएका हुन् ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ मोबाइल एपबाटै आईपीओ भर्ने सुविधा थपेपछि लगानीकर्ताहरुले अब आफ्नो स्मार्टफोनबाटै आईपीओ भर्न सक्ने भएका छन् ।
सीडीएससीले गत भदौमा ‘मेरो शेयर’ मोबाइल एप सार्वजनिक गरेको थियो । एप सार्वजनिक भए पनि आईपीओ भर्ने सुविधा भने रहेको थिएन ।
तर एपमार्फत लगानीकर्ताहरुले आफ्नो शेयर र त्यसको दैनिक मूल्य भने हेर्ने पाउने व्यवस्था गरिएको थियो । सीडीएससीले गुगल प्ले स्टोरमा परीक्षणका लागि बेटा भर्सनमा यो एप उपलब्ध गराइरहेको छ ।
अब एपमा ‘माई आस्वा’ सुविधा थपिएपछि लगानीकर्ताहरुले एपबाटै आईपीओ भर्नसक्ने सुविधा दिइएको सीडीएससीको भनाइ छ । सुरुमा यो एपमा ‘माई आस्वा’ सुविधा रहेको थिएन ।
अहिले पूँजी बजारमा अनलाइन प्रयोगकर्ता बढेका छन् । यो सुविधासँगै अब लगानीकर्ताहरुले ल्यापटप वा कम्प्युटर नखोलेर सोझै आफ्नै स्मार्टफोनबाट आईपीओ भर्न सक्ने भएका छन् ।
मोबाइल एपबाटै आईपीओ भर्न सकिने भएपछि अब सीडीएससीको ‘मेरो शेयर’ पोर्टलमा चाप घट्ने अनुमान गरिएको छ । यसअघि ठूलो संख्या आईपीओ भर्नेहरुले एकैपटक साइट खोल्दा आईपीओ भर्न समस्या हुँदै आएको थियो ।
FACEBOOK COMMENTS