काठमाडौं, १७ कार्तिक – अब वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइनमार्फत नै भुक्तानी गर्न सक्ने भएका छन् ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति, पुनः श्रम स्वीकृतिका लागि अब देश विदेश जहाँ भए पनि अनलाइन सेवाप्रदायक संस्था ई-सेवा, फोन पे र स्प्यारो पेमार्फत तिर्न सक्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
श्रमिकले ई-सेवा, स्प्यारो एपमार्फत कल्याणकारी कोषमा १५ सय रुपैयाँ सिधै जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा गर्दा थप शुल्क लाग्ने छैन । यो व्यवस्था भएसँगै अब श्रमिकले कल्याणकारी कोषमा रकम बुझाउन बैंक धाउनुपर्ने बाध्यता हटेको छ भने विदेशमै बसेर पनि पुनः श्रम स्वीकृति लिनका लागि कल्याणकारी कोषमा रकम जम्मा गर्ने सक्ने बाटो खुलेको छ ।
सरकारले श्रमिकले विदेशबाटै पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गर्ने भन्दै आएको छ । अब कल्याणकारी कोषको रकम अनलाइन प्रणालीबाट तिर्ने बाटो खुलेसँगै विदेशबाट पुनः श्रम स्वीकृति लिनका लागि एउटा पाटो सहज भएको छ ।
FACEBOOK COMMENTS