काठमाडौं, वैशाख ७ – अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केकीलाई कोरोना भएपछि छायाङ्कनमा निस्कने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्युल प्रभावित भएको छ ।सोमबारबाट छायाङ्कनमा जाने भनेको चलचित्रको सुटिङ अभिनेत्रीलाई कोरोना भएसँगै रोकिएको निर्देशक दीपक श्रेष्ठले जानकारी दिए । यो चलचित्र श्रेष्ठले नै निर्देशन गर्न लागेका हुन् ।
केकीले पहिलो पटकको रिपोर्ट पोजेटिभ आउँदा विश्वास नलागेको बताइन् । उनले दोस्रो पटक पनि कोरोना परीक्षण गराएकी थिइन् । दोस्रो पटक पनि कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी होम क्वारेन्टाइनमा बसेकी छन् ।
कोरोनाको पहिलो लहरमा यही चलचित्रको छायाङ्कनमा निस्कनै लाग्दा निर्देशक श्रेष्ठलाई कोरोना भएको थियो । यस पटक चलचित्रको छायांकनका लागि चलचित्रमा सामेल केही मानिस पनौती पुगिसकेका थिए । अब यो चलचित्रको छायांकन केकीको रिपोर्ट नेगेटिभ आएपछि मात्रै हुने भएको छ ।
FACEBOOK COMMENTS