काठमाडौं,माघ २९- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । अमेरिकाको पूरै टिम १२ ओभरमै अलआउट भएको हो ।
नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले एक मेडन राखेर १६ रन खर्चिँदा ६ विकेट हात पारे । यो उनको करियरकै अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।
सुशन भारीले तीन ओभरमा एक मेडन राखेर मात्र पाँच रन दिँदा महत्वपूर्ण चार विकेट हात पारे । त्यस्तै तीन ओभर बलिङ गरेका करण केसी भने विकेटविहीन बन्न पुगे ।
FACEBOOK COMMENTS