काठमाडौँ, श्रावण ९ – अमेरिकामा कोरोना संक्रमण तिब्र गतिमा बढी रहेको छ । समाचार एजेन्सी रोयटर्सले गरेको एक विश्लेष्णमा अमेरिकामा हरेक घण्टामा २६ सय जना संक्रमित भएको खुलासा भएको छ ।
यसै बर्षको जनवरी २१ मा अमेरिकामा कोरोनाको पहिलो संक्रमण देखिएकोमा अहिलेसम्म त्यो संख्या ४१ लाख नाघेको छ ।
अमेरिकामा पहिलो १० लाख संक्रमण पुष्टि हुने ९८ दिन लागेको थियो । त्यस्तै अर्को ४३ दिनमा अमेरिकामा २० लाख संक्रमित नाघेका थिए । त्यसपछि अर्को २७ दिनमा संक्रमित ३० लाख पुगे भने हालै अर्को १६ दिनमा संक्रमित ४० लाख पुगेका छन् । रोयटर्सका अनुसार पछिल्लो १६ दिनमा अमेरिकामा हरेक मिनेटमा ४३ जना नयाँ संक्रमणका केस रिपोर्ट भएका छन् । अमेरिकामा अहिले हरेक १० हजार अमेरिकीमा १२० जना संक्रमित भएका छन् भने ४।४ जनाको मृत्यु भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रशासनबीच शुरु देखिनै महामारीको सामना गर्ने विषयमा मतभेद रहदै आएको छ भने कोरोनाको यो डरलाग्दो तस्वीरले अमेरिकामा अझै कोरोनाको कहर केहि समय जारी रहने अनुमान गर्न सकिन्छ ।
कोरोना महामारीको प्रोटोकल बनाउने देखि लिएर सामान्य विषय मास्क लगाउने की नलगाउने भन्ने विषयमा समेत ट्रम्प प्रशासन प्रष्ट नभएकोमा कडा आलोचना खेप्नु परेको छ । पछिल्लो समयमा भने राष्ट्रपति ट्रम्पले आफ्नो अडान बदलेको संकेत दिदै सार्बजनिक ठाउमा मास्क लगाएर देखिने र जनतालाई मास्क लगाउन अनुरोध गर्दै मास्कले फाइदा हुने बताउन थालेका छन् ।
पछिल्लो रिपोर्ट अनुसार अमेरिकामा अहिलेसम्म ४१ लाख ६८ हजार ६४ जना संक्रमित भएका छन् भने एक लाख ४७ हजार २८१ जनाको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS