काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण लिएर गाडी नचढ्न सुझाव दिए पछि व्यवसायी चिढिएका छन् ।
नाडा अटो शोमा प्रमुख अतिथी युवराज खतिवडाले ऋण लिएर गाडी नचढ्न सुझाव दिएका हुन । ‘’ऋण लिएर गाडी नचढ्नुस, यसले न व्यक्तिलाई फाइदा गर्छ न त देशलाई नै । नगदै तिर्न सक्ने क्षमता बनाएपछि मात्रै गाडी चढ्नुस’, अर्थमन्त्री डा. खतिवडाले भने ।
नाडा अटो शोमा बैंक तथा वित्तिय संस्थाहरु मार्फत किस्ता बन्दीमा गाडी खरिद हुँदै आएको छ । गाडी बिक्रेता कम्पनीहरुले पनि बैंकहरुसँग सहकार्य गरेर किस्ता बन्दीमा गाडी बेच्दै आएका छन् । ९० प्रतिशत सवारी साधनहरु बैंकबाट ऋण लिएरै खरिद हुने गरेका छन् ।
हाल बैंकहरुले ३५ प्रतिशत डाउन पेमेन्ट तिरेर गाडीका लागि ऋण दिँदै आएका छन् । अर्थमन्त्रीले नै ऋण लिएर गाडी नचढ्नुस् भनेपछि व्यवसायी तथा बैंकहरु भने झस्किएका छन् ।
मन्त्री डा. खतिवडाले गोरखकाली टायर उद्योग पुनः सञ्चालनको तयारी भैरहेको बताउँदै सवारी साधनका नक्कली पार्टपूर्जाहरुको आयातमा कडाई गर्ने पनि बताए ।
उनले अटोमोबाइल क्षेत्रले मुलुकको राजश्वमा १५ प्रतिशत योगदान दिएको बताउँदै त्यस्तो क्षेत्रको विकासमा सरकार सम्वेदनशिल रहेको दावी पनि गरे ।
मन्त्री खतिवडाले विद्युतिय सवारी साधन र ठूला सवारीहरुको आयातमा सरकारले बिशेष सहुलियत दिएको र त्यस्तो सहुलियतलाई निरन्तर बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
FACEBOOK COMMENTS