काठमाडौं, आश्विन १२ – भारतीय उद्योगी अनिल अम्बानी कुनै समय विश्वका धनी ६ व्यक्तिको सूचीमा पर्थे । तर अनिल धिरुभाइ अम्बानी ग्रुप (एडीएजी) का अध्यक्ष उनी अहिले टाट पल्टिएका छन् । शुक्रबार बेलायतको अदालतलाई भर्चुअल बयान दिएका उनले आफ्नो औसत सम्पत्ति शून्यमा आएको बताएका छन् ।
आफूसँग भएको सबै गहनासमेत कानुनी शुल्कको लागि बेचेको र अब एउटा कार मात्र बाँकी रहेको बताएका छन् । उनले आफू एक सरल व्यक्ति भएको पनि उल्लेख गरेका छन् ।
टाइम्स अफ इन्डियाको रिपोर्टलाई आधार मान्ने हो भने उनले सन् २०२० को जनवरीदेखि जुनसम्मको अवधिमा नौ करोड ९० लाखमा आफूसँग भएको सबै गहना बिक्री गरेका थिए । उनले सञ्चारमाध्यममा आएको जस्तो आफ्नो विलासी जीवनशैली नरहेको बताए ।
तीन चिनियाँ बैंकले अम्बानीमाथि मुद्दा दायर गरेका थिए । मे २२ मा बेलायतको अदालतले अनिललाई ७१ करोड ६० लाख डलर चिनियाँ कम्पनीहरुलाई ऋण बुझाउन निर्देशन दिएको थियो । थप सात लाख ५० हजार डलर कानुनी शुल्कको रुपमा बुझाउन निर्देशन दिइएको थियो ।
आफू जमानी बसेर लिएको ऋण तिर्न नसकेपछि अनिल अम्बानीले अहिले मुद्दा खेप्नुपरेको हो । अम्बानीले भनेका छन्, ‘मेरो खर्च न्यूनतम छ र त्यो खर्च मेरी पत्नीले परिवारलाई दिँदै आएकी छन् ।’
उनले आफ्नो आम्दानीको अन्य स्रोत पनि नरहेको र अब थप खर्च बेहोर्नुपरेको खण्डमा अदालतबाट थप सम्पत्ति बिक्रीको अनुमति लिनुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।
सन् २००८ मा अनिल अम्बानी विश्वका छटौं धनी व्यक्ति थिए । उनको सम्पत्ति ४२ अर्ब डलर थियो । त्यसको १२ वर्षमा अहिले उनको सम्पत्ति शून्यमा झरिसकेको छ । यद्यपि उनका दाजु मुकेश अम्बानी भने अहिले एसियाकै सबैभन्दा धनी व्यक्ति हुन् ।
सन् २००२ मा उनीहरुका बुबा धिरुभाइ अम्बानीको निधन भयो । त्यसपछि मुकेश अम्बानी रिलायन्स इन्डष्ट्रीको अध्यक्ष बने भने अनिल प्रबन्ध निर्देशक । तर २००५ मा आइपुग्दा दाजुभाइको बीचमा मनमुटाव बढ्यो । त्यसपछि उनीहरु दुई भागमा विभाजित भए । टेलिकम, ऊर्जा उत्पादन र वित्तीय सेवाको व्यवसाय अनिल अम्बानीले राखे । दाजुको भागमा तेल शुद्धिकरण र पेट्रोकेमिकल व्यवसाय पर्यो ।
अनिल अम्बानीको रिलायन्स ग्रुपले रिलायन्स कम्युनिकेशन, रिलायन्स पावर, रिलायन्स क्यापिटल, रिलायन्स इन्फ्रास्ट्रक्चर, रिलायनस नाभाल, रिलायन्स होम फाइनान्स व्यवसाय सञ्चालन गर्दै आएको छ । बताइएअनुसार अनिल टेलिकम व्यवसाय आफ्नो पार्न चाहन्थे र उनका लागि रिलायन्स कम्युनिकेशन निकै महत्वपूर्ण व्यवसाय थियो ।
FACEBOOK COMMENTS