काठमाडौं, जेठ २३ – सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिकसत्र शुरू गर्ने तयारी गरेको छ । सोही अनुरुप आवश्यक तयारी गर्न शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बन्धित विभागीय प्रमुखहरूलाई निर्देशन समेत दिएका छन् ।
नयाँ शैक्षिकसत्र शुरू गरिने हुँदा मन्त्रालयअन्तर्गतको आर्थिक वर्ष २०७८/७९ को बजेटले गरेको व्यवस्थाहरू कार्यान्वयनमा ल्याउन पनि उनले निर्देशन दिएका छन् । तत्काल देखिने गरी सबै काम अघि बढाउन मन्त्री श्रेष्ठले विभागीय प्रमुखलाई निर्देशन दिएका हुन् । बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधि योजना तयार गर्न ढिला गर्न नहुने बताउँदै उनले साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने विषयमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
वैकल्पिक विधि प्रयोग गरी असार १ गतेदेखि कक्षा सञ्चालन गर्न आग्रह गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले असार १ गतेदेखि भर्ना प्रकृया शुरु गरिने भएकाले त्यसका निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
त्यस्तै वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने उनको भनाइ छ । मन्त्रालयले साउन १ गतेदेखि बजेट कार्यान्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी मन्त्री श्रेष्ठलाई गराएका छन् ।
FACEBOOK COMMENTS