काठमाडौँ, भदौ २९ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसहित बैंक तथा बिमा समिति कतैबाट पनि सहयोग नपाएको भन्दै असोज १ गतेदेखि देशभर सार्वजनिक यातायात सञ्चालनमा ल्याउने जनाएको छ ।
महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनलगायतकाले संयुक्तरुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै असोज १ गतेदेखि सार्वजनिक सवारीसाधन सडकमा निकाल्ने बताएका हुन् ।
महासंघका महासचिव सरोज सिटौलाले बाह्रखरीसँग कुरा गर्दै भने, “हाम्रो समस्या कसैले सुनेन । हामीले मन्त्रीलाई मौखिकरुपमा आग्रह गर्यौं, लिखितरुपमा बुझायौं, स्वास्थ्य मन्त्रालय, विज्ञहरुसँग अनुनयविनय गर्यौं । तर कतैबाट हाम्रो माग सुनिएन । असोज १ गते विश्वकर्मा बाबाको पुजा गरेर अब हामीलाई बचाउने भए तपाइँ नै बचाउनुस् भनेर गाडी निकाल्छौं । ६ महिनादेखि गाडी चल्न पाएका छैनन् । हाम्रा गाडीमा घिरौंला र फर्सी फल्न थाले ।”
उनले दलालले रातो नम्बर प्लेटका सवारीको पास बनाइदिएर यात्रु ओसार्ने गरेको भए पनि कालो प्लेटको सञ्चालन गर्न नदिएको भन्दै आक्रोश पोखे ।
“यो कुरा स्वास्थ्यविद्हरुले पनि बुझेनन्,” उनले भने, “बैंकले एकरुपैयाँ छाडेको छैन । हाम्रा मजदुरले खाना पाएनन् । अब हामीले कति समयसम्म गाडी थन्क्याएर राख्ने ?”
“करिब ६ महिनादेखि सार्वजनिक यातायात चल्न सकेका छैनन् । जसका कारण ११ लाख यातायात श्रमिक र ३ लाख ६० हजार यातायात व्यवसायीहरुसँग प्रत्यक्ष आश्रित परिवारका ४५ लाखभन्दा बढीको जीवन संकटमा परेको छ,” व्यवसायीहरुले संयुक्तरुपमा बुझाएको ज्ञापनपत्रमा पनि भनिएको थियो, “यसअघि पनि श्रमिक र व्यवसायीहरुका समस्याहरु कार्यदलको तर्फबाट सरकारलाई पटक पटक अवगत गराइसकेका छौँ । समूह कोरोना बिमामा ५० प्रतिशत प्रिमियम बेहोरिदिने, व्यवसायीलाई पुनःतालिका उपलब्ध गराइदिने, सवारी नवीकरणलगायतका बिलम्ब शुल्क मिनाहा गरिदिनेजस्ता कार्यका लागि नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।”
सिटौलाले असोज १ गतेदेखि सवारीसाधन चलाउँदा आफूहरुले स्वास्थ्य मापदण्डलाई पालना गर्ने बताए ।
FACEBOOK COMMENTS